काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेर नाफा कमाउने र ठगी धन्दामा लागिपरेको बताउनुभएको छ।
आज काठमाडौँमा आयोजित पाँचौँ राष्ट्रिय सहकारी भेला–२०८० लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहकारीमा सङ्कट आउनुमा पुँजीपतिले हात हाल्नु पनि प्रमुख कारण रहेको बताउनु भयो।

‘सहकारीमा आएको सङ्कट पुँजीपतिहरूले हात हाले। पुँजीपतिले त एदोग व्यवसाय चलाउने हो सहकारी होइन। तर पुँजीपतिहरूले सहकारी चलाउने भनेर धन्दाको रूपमा अघि बढाउन थालेपछि बर्बाद हुने नै भयो’, उहाँले भन्नुभयो, ‘सैद्धान्तिक हिसाबले भन्ने हो भने गरिब जनता र गरिब जनताको आर्थिक जीवन उकास्ने पक्षमा रहेका विचार र सङ्गठनहरू सहकारीको पक्षमा हुन्छन्।’
उहाँले नेपालमा सहकारीको विपक्षमा रहेकाहरू सहकारीमा आवद्ध हुँदा सहकारीहरू सङ्कटमा परेको बताउनुभयो। ठुला र धेरै पैसा जम्मा गर्नेहरू सङ्कटमा पर्दा धेरै मानिसको पैसा डुब्दा सहकारीप्रति आशङ्का उब्जेको अध्यक्ष ओलीको भनाइ छ।

‘यतिबेला नेपालमा केही गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरे। जसलाई सहकारी चाहिएकै छैन, तिनीहरू सहकारीका नाममा प्रवेश गरे र जसले नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजे’, ओलीले भन्नुभयो, ‘तिनीहरूले धेरै मान्छेलाई डुबाए । आफू बदनाम भए। केही मान्छेले पैसा कमाए होलान्। इज्जत गुमाए होलान्।’






प्रतिक्रिया