काठमाडौं-भाषा परीक्षा पास गरी रोजगारीका लागि दक्षिण कोरिया जान चाहेका युवाहरूको हत्यामा संलग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै अनेरास्ववियु रामेछापले प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाएको छ।
जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत अनेनरास्ववियुले प्रधानमन्त्रीलाई ज्ञापन-पत्र पठाएको हो। उच्च अदालतका पूर्वन्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष अनुसार सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीको कारण बालकुमारीमा प्रहरीको गोलीबाट युवाहरू मारिएकाले घटनामा संलग्न मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न तथा संलग्न जो कोही भए पनि आवश्यक कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउन प्रधानमन्त्री समक्ष अनेरास्ववियुले माग गरेको छ।
उक्त घटनाको सत्य तथ्य छानबिन गर्न, घटनाका दोषीलाई उन्मुक्ति दिने गरी प्रतिवेदनलाई मन्त्रालयको दराजमा मात्र नथन्काउन तथा यस प्रकारका घटनालाई गम्भीरतापूर्वक लिन गठबन्धन सरकारलाई चेतावनी समेत दिन चाहन्छौँ’, अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्पक भट्टराईले हस्ताक्षर गर्नुभएको ज्ञापन-पत्रमा लेखिएको छ।
गत पुस १३ मा बालकुमारी ललितपुरमा भाषा परीक्षामा सहभागी हुन नपाएपछि युवाले गरेको आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा सुजन राउत र वीरेन्द्र शाहको मृत्यु भएको थियो । युवाले आन्दोलन गरिरहेको बेला आन्दोलन स्थलमा सरकारी गाडी लिएर मन्त्री ज्वाला पुगेर भिडलाई भड्काउने काम गरेपछि प्रहरीले गोली चलाएको थियो भने युवाले मन्त्री चढेको गाडी जलाइदिएका थिए ।





प्रतिक्रिया