अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पक्राउ परेका लघुवित्त पीडितमाथि मुद्दा नचलाउ, बिना शर्त रिहा गर: एमाले

पक्राउ परेका लघुवित्त पीडितमाथि मुद्दा नचलाउ, बिना शर्त रिहा गर: एमाले


काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले फागुन १४ गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा छिरेपछि पक्राउ परेका मिटरब्याज तथा लघुवित्त पीडितहरुमाथि मुद्दा नचलाउन सरकारसँग माग गरेकाे छ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट प्रहरी नियन्त्रणमा पुगेका लघुवित्त पीडितहरुमाथि मुद्दा नचलाई बिना शर्त रिहा गर्न एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेकाे हाे ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संसदीय दलका सचेतक महेश बर्तौलालगायतको टोलीले गृहमन्त्री श्रेष्ठसँग भेट गर्दै मुद्दा नचलाउन भनेको हो। 

पार्टी संसदीय दलकाे टाेलीले बुधबार गृहमन्त्री श्रेष्ठलाई भेटेर साे माग गरेकाे सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयाे ।

गृह मन्त्रालय र सुरक्षा संयन्त्रका कमजोरीका कारण पीडितहरु संसद् भवनभित्र प्रवेश गरेकाले उनीहरुमाथि मुद्दा नचलाउन र बिना शर्त तत्काल रिहा गर्न गृहमन्त्रीकाे ध्यानाकर्षण गराइएकाे सचेतक बर्ताैलाले बताउनुभयाे।

प्रहरीले साेमबार पक्राउ परेका ४८ जना महिला र १ जना पुरुष आन्दोलनकारीलाई मुद्दा चलाउने तयारी गरेपछि एमालेले सरकारकाे ध्यानाकर्षण गराएकाे हाे । साे घटनामा सुरक्षा कमजोरी गर्नेलाई कारबाही गर्न पनि गृहमन्त्रीकाे ध्यानाकर्षण गराइएकाे उहाँले बताउनुभयाे ।

मिटरब्याज-लघुवित्त पीडितहरुको माग सम्बोधन गर्ने सुनिश्चितता गर्न पनि सरकारसँग माग गरिएको सचेतक बर्तौलाले जानकारी दिनुभयो ।जवाफमा गृहमन्त्रीले मिटरब्याज-लघुवित्त पीडितहरुको बिना शर्त रिहाइ र मुद्दा नचलाउने गरी सहजीकरण गर्ने तथा उनीहरुका माग सम्बोधन हुनेगरी वार्तामा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँले बताउनुभयो । 

बानेश्वर र सिंहदरबार वरपर फुटपाथमा सर्वसाधारणलाई तारबार लगाएर हिँड्न समेत रोक लगाइएकाे विषयमा एमालेकाे आपत्ति रहेकाे भन्दै  उहाँले यस्तो काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरिएकाे बताउनुभयाे ।

लघुवित्त पीडितहरु सुरक्षा घेरा ताेडेर संसद् भवन छिरेपछि सरकारले सिंहदरबार र संसद् भवनकाे फुटपाथमा सर्वसाधारणलाई पैदल हिँड्न निषेध गरेकाे छ ।