काठमाडौं-प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। रिटको सुनुवाइका लागि २०८३ कात्तिक ३० गते पेसी तोकिएको छ।
कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। शुक्रबार उक्त रिट दर्ता भएसँगै सुनुवाइका लागि पेसीसमेत तोकिएको हो।
रिट निवेदनमा आफूलाई सुनुवाइको मौका नदिई कुनै आधार र कारणबिना पदबाट हटाइएको दाबी गर्दै सरकारको निर्णय बदर गरी पुनः आईजीपीमा बहाल गर्न माग गरिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो। केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।



प्रतिक्रिया