काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा आबद्ध भएकै आधारमा कसैले पनि गलत कामको उन्मुक्ति नपाउने बताएका छन्। पार्टीका नेता तथा समर्थक सबैले विधि र नियमको पालना गर्नुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन्।
निर्वाचन क्षेत्र भ्रमणका क्रममा इच्छाकामनाका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटमा सभापति लामिछानेले पार्टीको नाममा हुने गलत गतिविधिलाई संरक्षण गर्न नसकिने स्पष्ट पारे। पार्टीमा आबद्ध भएकै कारण कसैले पनि कानुन र विधिभन्दा माथि रहने छुट नपाउने उनको भनाइ थियो।
‘पार्टीका समर्थकले जे गरे पनि हुन्छ भन्ने होइन। पार्टी विधिमा चल्छ भन्दैमा आफ्ना नेता तथा समर्थकलाई पनि जे गरे पनि छुट हुँदैन। हामी विधिमा विश्वास गर्छौँ,’ सभापति लामिछानेले भने।
सभापति लामिछानेले राज्यका सबै संस्था र निकायले विधिको पालना गर्ने वातावरण निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।
सभापति लामिछानेले पार्टीलाई बलियो बनाउन तल्लो तहबाटै नेतृत्व विकास गर्नुपर्ने आवश्यकता औँल्याए। वडा, पालिका, जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्व अहिलेबाटै तयार पार्न उनले कार्यकर्तालाई आग्रह गरे।
पार्टी सभापतिको जिम्मेवारीसँगै संगठन विस्तार, सरकारसँग समन्वय र विभिन्न क्षेत्रका गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले निर्वाचन क्षेत्रमा नियमित पुग्न नसकेको उनले बताए। तर, आफू स्थानीय नेता तथा कार्यकर्ताको सम्पर्कबाट टाढा नरहेको उनको भनाइ थियो।
चितवनमा पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न भएको उल्लेख गर्दै लामिछानेले अब पार्टी निर्माण र संगठनलाई संस्थागत बनाउने कामलाई प्राथमिकता दिनुपर्ने बताए। पार्टीले सरकारसँग आवश्यक समन्वय गर्दै आफ्ना जिम्मेवारीसमेत प्रभावकारी रूपमा निर्वाह गरिरहेको उनले उल्लेख गरे।
स्थानीय विकास निर्माणका काममा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीको संस्थागत संरचनालाई सक्रिय बनाउनुपर्नेमा पनि उनले जोड दिए। नागरिकले सामान्यदेखि विकास निर्माणका हरेक कामका लागि सांसद नै खोज्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने भन्दै उनले स्थानीय तहमै सक्षम नेतृत्व स्थापित गर्नुपर्ने बताए।
पार्टीको जिम्मेवारी केन्द्रमा मात्र सीमित नराखी स्थानीय तहसम्म विस्तार गर्नुपर्ने उल्लेख गर्दै लामिछानेले सम्भावना भएका नेता तथा कार्यकर्ताको पहिचान गरी उनीहरूको क्षमता विकासमा ध्यान दिन आग्रह गरे।



प्रतिक्रिया