काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयवस्तु तथा संसद्का गतिविधिबारे छलफल भएको थियो।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको शिष्टाचार भेटवार्तामा संसद्को अधिवेशन आह्वान, संसद्लाई नियमित तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयलगायतमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि उनले जानकारी गराएका थिए।
सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी दिँदै संसद्लाई प्रभावकारी बनाउने विषयमा भएका पहलका बारेमा समेत अवगत गराएका थिए।
यसैगरी, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभा पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि उनले जानकारी गराएका थिए।
भेटमा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने धारणा राखेका थिए। संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका कामकारबाहीबारे समेत चासो व्यक्त गरेका थिए।



प्रतिक्रिया