अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा गोल्डकप स् एपिएफ फुटबल क्लब सेमिफाइनलमा

झापा गोल्डकप स् एपिएफ फुटबल क्लब सेमिफाइनलमा


झापा-विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ संस्करणको झापा गोल्डकपको आजको खेलमा एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले बागमती युथ क्लबलाई ४-३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो।

एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदीप कार्की र प्रदीप लामाले गोल गरेका थिए। बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूले गोल गरेभने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए।

एपिएफ ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ। यद्यपि, एपिएफले अर्को क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको निर्णय भएको छैन। एपिएफले पहिलो चरणको खेलमा ‘टाइब्रेकर’मा सङ्कटा फुटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो।

खेलको १०औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन। २६औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए।

पहिलो हाफको इन्जुरी समयमा अग्रता बनाउने अवसर बागमतीले गुमाएको थियो। बागमतीका निर्मल घिसिङको फ्री किक बारको नजिकैबाट बाहिरिएको थियो। खेलको ५४औँ मिनेटमा एपिएफका दीपेश धिमालले गरेको प्रहार गोलपोस्टमा लागेको थियो। खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपिएफको फिनिसिङमा कमजोरी देखिएको थियो। खेल अवधिभर एपिएफलाई बागमतीले दबाबमा राखेको थियो।

खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भएर रु ११ हजार नगद पुरस्कार प्राप्त गरे। पहिलो चरणको खेलमा पनि श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ भएका थिए। मङ्गलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ।

यसैबीच, नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीले आज आयोजना गरेको केपी ओली ‘रोड रेस’ प्रतियोगिताको उपाधि पुरुषतर्फ दिनेशकुमार यादव र महिलातर्फको उपाधि राममाया बुढाले जितेका छन्।

दुवैजना विजेताले पुरस्कारस्वरुप जनही रु ५१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। आज ५१औँ सुखानी स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको झापाको चारपाने चोकबाट इलाम र झापाको सङ्गमस्थल सुखानी सहिद पार्कसम्म १० किलोमिटर दूरीको दौड प्रतियोगितामा यादव र बुढाले उपाधि जितेका हुन्।

धावक यादवले ५१ मिनेट २३ सेकेन्डमा १० किलोमिटरको दूरी पार गर्दै विजेता बनेका थिएभने महिलातर्फकी विजेता बुढाले ५९ मिनेटमा दूरी पार गरेकी थिइन्।

यसैगरी, द्वितीय पुरुषतर्फ सन्दीप बस्नेत र महिलातर्फ पुष्पा भण्डारी भएका छन्। उनीहरुले नगद रु ३१ हजार नगद, मेडल, ट्रफी प्राप्त गरेका छन्। तृतीय बन्ने खेलाडीहरुमा पुरुषतर्फ पवन कार्की र महिलातर्फ फूलमति राना छन्। उनीहरुले जनही नगद रु २१ हजार प्राप्त गरेका छन्। दुवै तर्फका उत्कृष्ट १० सम्मलाई पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको मूल आयोजक उपसमिति संयोजक प्रकाश बस्नेतले जानकारी दिनुभयो। प्रतियोगितामा देशभरबाट चार सय ४८ जना सहभागी भएका थिए। प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले उनीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो।