अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजलाई जोड्न धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यमः पूर्वराष्ट्रपति डा. यादव

समाजलाई जोड्न धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यमः पूर्वराष्ट्रपति डा. यादव


जनकपुरधाम-पूर्वराष्ट्रपति डा रामवरण यादवले समाजलाई जोड्नका लागि धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यमका रूपमा रहेका बताउनुभएको छ।

मिथिला क्षेत्रको महत्वपूर्ण सांस्कृतिक पर्व मिथिला माध्यामिकी परिक्रमाको आज शुभारम्भ गर्दै पूर्वराष्ट्रपति डा. यादवले माध्यमिकी परिक्रमा मिथिलाको सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएकाले यसले समाजलाई जोड्ने काम गरिरहेको बताउनुभयो। 

“मिथिलाको सांस्कृतिक इतिहास हजाराँै वर्ष पुरानो छ। यो यहाँको सभ्यता र पहिचान पनि हो। त्यसैले यसको संरक्षणका लागि सबैले भूमिका खेल्न जरुरी छ”, पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो। 

कार्यक्रममा मधेस–प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले मिथिला माध्यमिकी परिक्रमा क्षेत्रको व्यवस्थित विकासका लागि गुरुयोजना बनाएर काम गर्ने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो। उहाँले परापूर्वकालदेखि चलिआएको माध्यमिकी परिक्रमा संस्कृतिलाई व्यवस्थित बनाउन, परिक्रमा क्षेत्रका ऐतिहासिकस्थललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पदाका रूपमा विकास गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो। 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार नन्दकिशोर यादव, मिथिला बिहारी नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद यादवलगायतले मिथिला मध्यमिकी परिक्रममास्थल वडा-८ कचुरीस्थित मिथिला बिहारी मन्दिरको संरक्षण र विकासका लागि सबै तहका सरकार र निकायलाई आग्रह गर्नुभयो। 

नेपाल ११ र भारतका चारसहित विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गर्ने यो पर्वलाई यहाँ विशेष महत्वका साथ लिने गरिन्छ। ‘जय सियाराम जय जय सियाराम’ को मन्त्रसहति आज धनुषाको मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित श्रद्धालुहरूले यात्रा प्रारम्भ गर्नुभयो। 

सहभागीहरूले परम्परागत बाजागाजा, झाँकीसहित मौलिक पहिरनमा सहभागी हुनुभएको छ। अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आइएको र यो धार्मिक यात्रा १५ दिनभित्र जनकपुरमा होली खेलेर फागुपूर्णिमा तिथि पारेर समापन गर्ने परम्परा रहेको मिथिला विहारी मन्दिरका महन्थ रामनरेश शरणले जानकारी दिनुभयो ।

Skip This