अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इनम सापकोटालाई सरकारले नचाइरहेको छ: अध्यक्ष ओली

इनम सापकोटालाई सरकारले नचाइरहेको छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवादित बिचौलिया इनम सापकोटाको सम्पर्क, सम्बन्ध र कारोबार सरकार पक्षसँगै जोडिएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै एमालेका नेता तथा कार्यकर्तालाई सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन्।

शनिबार ललितपुरमा आयोजित एमाले बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रहरी, कर्मचारी तथा उद्यमी व्यवसायीसमेत सरकारको कार्यशैलीका कारण विभाजित अवस्थामा पुगेको दाबी गरे। प्रहरीको एउटा समूह कारबाहीको मारमा परेको र अर्को समूह रमिते बनेर बसेको उनको टिप्पणी थियो।

सरकारले इनम सापकोटालाई संरक्षण र परिचालन गरिरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले भने, ‘जताबाट हेर्‍यो, इनम सापकोटाको सम्पर्क, सम्बन्ध र कारोबार सरकार पक्षसँगै जोडिएको देखिन्छ। उनीहरूकै बिचौलिया जस्तो देखिन्छन्। यो केका लागि गरिएको हो, मैले बुझ्न सकेको छैन।’

अध्यक्ष ओलीले वर्तमान सरकार अवैधानिक गतिविधि, आगजनी र तोडफोडबाट उत्पत्ति भएको आरोप लगाउँदै यसबाट देश र जनताको भलो हुन नसक्ने दाबी गरे। उनले नेकपा एमाले कमजोर भएको भन्नेहरूलाई आन्दोलन र आगामी निर्वाचनमार्फत जवाफ दिन कार्यकर्तालाई आग्रह गरे।

‘एमाले सकियो होइन, देशको सबैभन्दा सही विचार बोकेको, सङ्गठित, प्रभावशाली, कर्मठ र उज्यालो भविष्य भएको पार्टी हो भन्ने फेरि हामीले देखाउनुपर्छ,’ अध्यक्ष ओलीले भने।

पार्टीभित्रै रहेर पार्टीविरुद्ध गतिविधि गर्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिँदै ओलीले पार्टीको पक्षमा उभिन नसक्नेहरूलाई पार्टी परिवर्तन गर्नसमेत सुझाव दिए। ‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ। पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन। भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो,’ अध्यक्ष ओलीले भने।

पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताले आफ्नै पार्टीविरुद्ध जालझेल, षड्यन्त्र र तिकडम गर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका ओलीले त्यस्ता गतिविधिमा संलग्नलाई स्थानीय तहमै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिए।

अध्यक्ष ओलीले जिल्ला कमिटीहरूलाई आवश्यक परे स्पष्टीकरण सोध्न, छानबिन गर्न र तथ्य प्रमाणित भए तत्काल कारबाही गरी सिफारिस पठाउनसमेत निर्देशन दिएका छन्।