अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आध्यात्मिकताले समाजलाई परिवर्तन गर्छ: मन्त्री चौधरी

आध्यात्मिकताले समाजलाई परिवर्तन गर्छ: मन्त्री चौधरी


सुनसरी-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आध्यात्मिक शिक्षाले सभ्य र सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ। 

सुनसरीको चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले धार्मिक सद्भाव र आध्यात्मिक चेतनाले समाजलाई परिवर्तन गर्न सक्ने बताउनुभयो। आध्यात्मिक चेतले सामाजिक अनुशासन कायम गर्ने चौधरीको धारणा छ ।

अध्यात्म र मेडिटेसनले पनि मान्छे मल्टिपल इन्टेलिजेन्स भएको उहाँले बताउनुभयो। गौतम बुद्धले पनि मेडिटेसन र ध्यान गरेर बुद्धत्व प्राप्त गरेको उहाँले स्मरण गर्नुभयो । आध्यात्मिक विषय धेरै महत्त्वपूर्ण भएको वैज्ञानिकले समेत प्रमाणित गरेको उहाँले बताउनुभयो।

धार्मिक मेलाले मुलुकको पर्यटकीय र आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने चौधरीले बताउनुभयो। वराहक्षेत्र र चतरा एक महत्त्वपूर्ण धार्मिक गन्तव्य भएको बताउँदै उहाँले यसको विकास र प्रवर्द्धन गर्नका लागि तीन वटै तहका सरकारले ध्यान दिनु पर्ने धारणा राख्नुभयो । 

बराह क्षेत्र र चतारा धामको विकास, निर्माण, सुरक्षा व्यवस्था सबै कुरामा होतामाले गरेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।  वराहक्षेत्र चतरा धामलाई उत्कृष्ट धार्मिक गन्तव्य बनाउन सकेमा हिन्दु नेपाल र भारतक मात्र होइन एसिया क्षेत्र तथा विश्वकै हिन्दु धर्मावलम्बीलाई आकर्षित गर्न सकिने उहाँको धारणा छ । 

सत्यको पक्षमा हिँड्दा कहिल्यै पनि हार नहुने भन्दै मन्त्री चौधरीले आफू पनि तीन पटक निर्वाचन लडेर निर्वाचित भएको बताउनुभयो ।  आफू दुई पटक उपविजेता बनेर तेस्रो पटकमा निर्वाचित हुन सफल भएको चौधरीले सुनाउनुभयो । निरन्तरको संघर्षले सफलता प्राप्त हुने चौधरीले स्पष्ट पार्नुभयो ।