अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रतिनिधि परिषद् बैठकले राजनीतिलाई अघि बढाउन स्पष्ट दिशानिर्देश गर्ने: शंकर पोखरेल

एमाले प्रतिनिधि परिषद् बैठकले राजनीतिलाई अघि बढाउन स्पष्ट दिशानिर्देश गर्ने: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले वर्तमान सन्दर्भमा नेकपा एमाले कसरी अघि बढ्नु पर्छ भन्ने स्पष्ट दिशानिर्देश गर्ने बताउनुभएको छ। 

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले राष्ट्रिय राजनीतिलाई सही दिशामा अघि बढाउने सन्दर्भमा पनि बैठकले स्पष्ट दृष्टिकोण तयार गर्ने धारणा राख्नुभयो। देशको ओरालो यात्रालाई रोकेर मुलुकलाई कसरी अघि बढाउने भन्ने विषयमा बैठकमा वृहत् छलफल हुने उहाँले स्पष्ट पार्नुभयो। 

मिसन ग्रासरुट पछि पार्टीले बनाएको कार्ययोजनाको समीक्षा गरी आगामी योजना बनाउन पनि बैठक कामयाबी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । बैठकले नेकपा एमालेलाई थप बलियो राजनीतिक शक्ति बनाउन सहयोग गर्ने पोखरेलले धारणा राख्नु भयो। 

विगतको गठबन्धन सरकारका कारणले देश तीन वटा चुनौतीबाट  गुज्रिएको उहाँले बताउनुभयो । गठबन्धनले राजनीतिक अस्थिरता, सामाजिक अराजकता, सामाजिक मूल्यहरूको विघटन र चरम आर्थिक सङ्कटको अवस्था सिर्जना गरिदिएको उहाँले बताउनुभयो । ‘जसका कारण नेपाली समाजमा चरम निराशा उत्पन्न भइरहेको, युवाहरू पलायन भइरहेको थियो, यो अवस्थालाई अन्त्य गर्नका लागि नेकपा एमाले विरुद्धको जुन घेराबन्दी थियो एमाले त्यसलाई तोडेर अघि बढेको हो’, उहाँले भन्नुभयो । 

नेकपा एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक  वैशाख ८ र ९ गते   ललितपुरको गोदावरीमा हुँदै छ । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू २ हजार ७३ जना, केन्द्रीय कमिटी लगायत २ हजार ४ सय ५४ जना सहभागी हुने छन् । 

पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने उक्त परिषद् बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

बैठकमा केन्द्रीय निकायहरू क्रमशः केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन् ।

बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्य योजना प्रस्तुत गरिने छ ।