अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बडादसैँको टीका आज पनि लगाइँदै

बडादसैँको टीका आज पनि लगाइँदै


काठमाडौं-विजयादशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ ।

आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ ।

बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी हो भने आज एकादशी हो । त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरूले आज पनि आफन्त तथा मान्यजनहरूकामा पुगेर विजयादशमीको टीका थापिरहेका छन् ।

हिजो घरैमा टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौंबाहिर रहेका आफन्त र मान्यजनकहाँ गइरहेका छन् । काठमाडौंबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक आफन्त र मान्यजनहरूकहाँ टीका थाप्नका लागि बाहिरिएका हुन् । त्यस्तै, मानिस बाहिरबाट पनि काठमाडौं आइरहेका छन् ।

बडादसैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रहिआएको छ ।

त्यसैले आज पनि बडादसैँको टीका लगाउने र लगाइदिने एवं आशीर्वाद लिने दिने क्रम जारी नै रहेकाले काठमाडौंमा चहलपहल केही बढेको देखिएको छ ।