अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान


काठमाडौं-पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छिन् ।

चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।

सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यो सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ ।

फोरममा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिका लगायतका विषयमा छलफल हुनेछ ।

त्यसैगरी, सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ ।

पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।