काठमाडौं-नेकपा एमालेका पोलिटव्युरो सदस्य विष्णु रिजालले इलाम-२ मा सुहाङ नेम्वाङले जित्ने सर्वेक्षणहरुले देखाएको बताउनु भएको छ।
नेता रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताउनु भएको हो। उहाँले नेकपा एमालेका उम्मेदवार इलाम क्षेत्र २ का सुहाङ नेम्वाङलाई शुभकामना समेत दिनुभएको छ।
उहाँ सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ‘सुवास नेम्वाङ लिम्बु समुदायबाट नेपालमा हालसम्मै सर्वोच्च स्थानमा पुग्ने एक मात्र व्यक्तित्व हुनुहुन्थ्यो, जो संविधानसभाको अध्यक्ष हुँदा मुलुकले संविधान पायो। नेकपा एमालेले उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनायो। उहाँको अप्रत्याशित निधनपछि उहाँप्रतिको सम्मानस्वरुप छोरा सुहाङलाई इलाम-२ को रिक्त स्थानमा उम्मेदवार बनाएको छ।’

नेता रिजालले सुवास नेम्वाङसँग तुलना गर्नुभएको छ। उहाँले सुहाङ नेम्वाङको आनीबानी, अनुहार र लवज देखेर झल्झली सुवास नेम्वाङ जस्तै लागेको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘सुहाङलाई हेर्दा मलाई जस्तै तपाईंलाई पनि ठ्याक्कै ३२/३३ वर्षको सुवास नेम्वाङ जस्तो लाग्छ होला। उस्तै बोली, उस्तै शालीनता, उस्तै विनम्रता। न कसैको आलोचना, न कसैको विरोध। सबैसँग झुकेको छ, आशीर्वाद मागेको छ । मैले त उनले ‘वास्तवमा…‘ भनेर बोल्न सुरु गरेको देख्दा झल्झली सुवास नेम्वाङको अनुहार र लवज पाएँ । इलामका मतदाताले पाँच पटक मतदान गरेका नेताको झल्को नदेख्ने कुरै भएन। सुहाङ पढेलेखेका युवा छन्, अहिले दिवंगत पिताको पदचिन्ह पछ्याउन खोजेका छन्। एक पटक निर्वाचित भएपछि उनी खरो उत्रिन सके भने नेता बन्लान्, सकेनन् भने पनि एक पटकलाई उनलाई मत दिनु सुवास नेम्वाङप्रतिको श्रद्धाञ्जली हुनेछ।’

प्रतिक्रिया