अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

को हुन् बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित दमन भण्डारी ?

को हुन् बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित दमन भण्डारी ?


काठमाडौँ-उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित हुनुभएको छ। सोमबार सम्पन्न मतगणनामा भण्डारीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो।

एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका सिंह ११ हजार ३४३ मा सीमित रहे । भण्डारी र सिंहको मतान्तर २६६ मात्र रहेको छ ।

२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका वडा-१ भण्डारी गाउँमा जन्मिएका दमनले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो । नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका भण्डारी नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर समाज सुधारका काममा लागेका थिए । बझाङमा लैङ्गिक हिंसाविरुद्धको अभियान समेत चलाएका उनलाई एमालेभित्र इमानदार, भद्र र शालिन व्यक्तिका रुपमा चिनिन्छ।

उपनिर्वाचनको मुखमा बुबा गुमाएका भण्डारी २०५४ सालमा मटेला गाविसको एमाले अध्यक्ष निर्वाचित हुनुभएको थियो । २०५५ सालमा जिल्ला कमिटी सदस्य, निर्वाचन क्षेत्र १ को क्षेत्रीय कमिटी सचिव बनेका उहाँ ०६२ सालमा राष्ट्रिय युवा संघ नेपाल अञ्चल कमिटी सचिव बन्नभएको थियो।

२०६९ सालमा भएको सातौँ जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटी सचिव हुँदै हाल बझाङ एमाले अध्यक्ष समेत रहेका छन् । यो उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा आकाङ्क्षी ६ जनाबिच मतदान गराउँदा भण्डारी सबैभन्दा धेरै ९४ मत प्राप्त गरेका थिए ।