अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले र कांग्रेस मिलेर सरकार बन्दैन: विष्णु रिमाल

एमाले र कांग्रेस मिलेर सरकार बन्दैन: विष्णु रिमाल


नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सरकार कुनै पनि हालतमा बन्न नसक्ने बताउनु भएको छ।

प्रतिनिधि सभाअन्तर्गत इलाम-२ र प्रदेश सभाअन्तर्गत बझाङ-१ मा वैशाख १५ गते भएको चुनावको परिणामबारे प्रतिक्रिया दिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासामा उहाँले एमाले-कांग्रेस सहकार्यको सम्भावना अस्वीकार गरेका हुन्।

‘एमाले र कांग्रेसको नयाँ सरकार बन्दै बन्दैन,’नेता रिमालले भन्नुभयो, ‘संविधानले नै दिँदैन नि।’

वर्तमान प्रधानमन्त्रीले बहुमत गुमाएमा धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस सभापति देउवालाई बोलाएर शपथ खुवाउन सक्ने नेता रिमालकाे भनाइ छ।

‘त्यो हामीलाई के जरुरी छ र? जरुरी नै छैन,’ उहाँले भन्नुभयो, ‘दुई वा दुईभन्दा बढी दल मिलेर बनाउने सरकारमा अहिलेका बहालवाला प्रधानमन्त्री असहमत हुनुभयो भने त सिधै सर्वाधिक ठूलो दलमा गइहाल्छ। राष्ट्रपतिले यो सरकार ढल्नासाथ देउवाजीलाई सिधै नियुक्त गरिहाल्नुहुन्छ। हामी गरिरहेको सहकार्य टुटाएर कांग्रेसको अल्पमतको सरकार बनाउन किन जान्छौँ र? जाँदैनौँ नि। त्यो त राजनीतिक र संवैधानिकरूपले पनि गलत हो।’