अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक: शङ्कर पोखरेल

मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक: शङ्कर पोखरेल


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभयो।

आज यहाँ एमाले काठमाडौँ-प्यूठान सम्पर्क मञ्चको १२औँ अधिवेशन उद्घाटन गर्नुहुँदै महासचिव पोख्रेलले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता सुनिश्चित हुन सके मुलुकको समृद्धिलाई कसैले रोक्न नसक्ने बताउनुभएको हो।

उहाँले हालै सम्पन्न उपनिर्वाचनले मुलुकमा अस्थिरता सिर्जना गर्न खोज्ने शक्ति र प्रवृत्ति काम लाग्दैन भन्ने सन्देश दिएको बताउनुभयो। विकसित देशमा राजनीतिक स्थायित्व पुराना राजनीतिक दलबाट खोज्ने गरिएको उहाँको भनाइ छ। “अमेरिकामा सयौँ वर्षदेखिका तीनै पार्टीबाटै नेतृत्वको विकल्प खोज्ने गरिन्छ। त्यहाँ ती पार्टी पुराना भयो, जनताले नयाँ पार्टी चाहियो भनेर भन्दैनन्। ब्रिटेनमा पनि सयौँ वर्षदेखि पुराना पार्टी आपसमा प्रतिस्पर्धा गर्छन्,' उहाँले भन्नुभयो, 'तर नेपालमा सामाजिक सञ्जालमा चर्चित व्यक्तिलाई अगाडि सारेर पपुलिजमका आधारमा विचारधारा निर्माण गर्ने र पुराना पार्टीको विकल्प खोज्ने दुष्प्रयत्न गरिएको छ। त्यसले नेपाली समाजलाई दिग्भ्रमित गरिरहेको थियो, त्यो सच्चा के हो भन्ने कुरा जनताका बीचमा गएर उपनिर्वाचनले परीक्षण गरेको छ।' 

उहाँले एमालेलाई मुलुकको समृद्धि र विकासको अगुवा पार्टीका रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो। अहिले नयाँ समीकरणले देशलाई चमत्कार गर्छ भन्ने विश्वास आफूहरुको नभएको भन्दै मुलुकको ओरोलो यात्रालाई रोक्न र मुलुकलाई बर्बाद हुनुबाट जोगाउन पार्टी सरकारमा सहभागी भएको उहाँले स्पष्ट पार्नुभयो। 

अहिले पनि एमालेको ध्यान मिसन २०८४ तर्फ रहेको र पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्ने धारणा उहाँले राख्नुभयो। एमाले पोलिटब्यूरो सदस्य तथा सांसद सूर्य थापाले प्यूठानका विकास निर्माणले गति लिएको बताउनुभयो। कार्यक्रममा एमाले प्यूठानका अध्यक्ष विजयविराट विष्ट, अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीलगायतले प्यूठानको विकासमा सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो।