अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ: योगेश भट्टराई

सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ: योगेश भट्टराई


ताप्लेजुङ-नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताउनुभएको छ। सत्ता साझेदार दलहरुबीचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको उहाँले बताउनुभयो।

आज पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार बनाउने अर्को विकल्प सहज नभएकाले उक्त प्रतिबद्धताअनुसार दलहरु अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। छिमेकी देशहरुमा तीव्ररुपमा विकास भइरहेकाले उनीहरुलाई पछ्याउनका लागि पनि वर्तमान सरकार टिकाई राख्नुपर्ने उहाँको भनाइ छ।

कतिपयले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए पनि त्यसका लागि समय बितिसकेको उहाँले बताउनुभयो। वर्तमान सरकारलाई समर्थन गर्नुअघि मुलुकको बिग्रदो अवस्थालाई नियन्त्रण गर्न नेपाली कांग्रेससँग छलफल गर्न खोजेको तर कांग्रेसले तत्परता नदेखाएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने निर्णयमा पुगेको उहाँको भनाइ थियो। 

उहाँले सत्तामा सामेल ठूलो दल एमालेले सरकारको नेतृत्वलाई सजिलो बनाउने र असन्तुष्ट दलहरुलाई सन्तुष्ट बनाएर अघि बढ्ने जानकारी दिनुभयो। कतिपयले अहिलेको समीकरणलाई वामपन्थी एकता वा धु्रवीकरण भनेर भन्ने गरे पनि त्यो नभएको उहाँले स्पष्ट पार्नुभयो। 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी विवादमा परेको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको सन्दर्भमा उहाँले संसदीय छानबिन समिति अन्तिम हतियार भएकाले तत्काल प्रयोग गर्न नहुने बताउनुभयो।