अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सत्ता गठबन्धन दायाँबायाँ हुँदैन: झलनाथ खनाल

वर्तमान सत्ता गठबन्धन दायाँबायाँ हुँदैन: झलनाथ खनाल


काठमाडौँ-नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता समीकरण दायाँबायाँ नहुने स्पष्ट पार्नुभएको छ।

 आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरी उहाँले वामपन्थी गठबन्धन बनाउने विषयमा पार्टीले गरेको संस्थागत निर्णयमा कुनै परिवर्तन नहुने बताउनुभयो।

पार्टीको निर्णयविपरीत कुनै व्यक्ति विशेषले बाहिर बोल्नुभन्दा पनि आन्तरिक बैठकमा नै छलफल गर्नुपर्ने उहाँले बताउनु भयो।

नेता खनाले भन्नुभयो, ‘वामपन्थी गठबन्धन बनाएर जाने भनेर नै एकीकृत समाजवादीले संस्थागत निर्णय गरेको हो । हामीले मन्त्रीहरूसमेत पठाइसकेका छौँ। यो सिलसिलामा कुनै व्यक्ति विशेषलाई केही कुरा मन लागेको छैन। चित्त बुझेको छैन भने त्यो पार्टीभित्रै छलफल गर्ने विषय हो । बाहिर बन्दै हिँड्ने विषय होइन। त्यसकारण हाम्रो पार्टी अहिले तलमाथि देब्रे दाहिने हुनेवाला छैन। अहिलेको गठबन्धनमा कुनै खतरा छैन।’

भेटवार्तामा  गठबन्धनमा कुनै समस्या नभएकोमा प्रधानमन्त्री प्रचण्ड पनि निश्चिन्त भएको जानकारी दिनुभयो। वैकल्पिक गठबन्धनको पक्षमा अध्यक्ष माधव नेपालसहित उच्च नेताहरूले अभिव्यक्ति दिएपछि गठबन्धनमाथि सङ्कट आएको अनुमानबिच उहाँले प्रधानमन्त्रीलाई भेट गर्नुभएको हो।