अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दलका प्रमुख सचेतकलाई सभामुखले भन्नुभयो: संवैधानिक संकट हुने अवस्था नआओस्

दलका प्रमुख सचेतकलाई सभामुखले भन्नुभयो: संवैधानिक संकट हुने अवस्था नआओस्


काठमाडौं-सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग गर्नुभएको छलफल सकिएको छ।सिंहदबारस्थित सभामुखको कार्यकक्षमा गरेको छलफल सकिएको हो।

छलफलमा दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउन नदिने सभामुखले छलफल गर्नुभएको हो।

राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेस प्रभावित हुने देखिएको भन्दै संवैधानिक संकट हुने अवस्था नल्याउन दलहरूलाई सभामुख घिमिरेले आग्रह गर्नुभयो।

सभामुख घिमिरे भन्नुभयो, ‘दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो होइन। राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको छ। संवैधानिक संकट हुने अवस्था नआओस्।’

बैठकमा नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने बताउनु भयो। उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्छ। तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ। छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ।’

 बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री रवि लामिछानेले पहिला बोल्न पाउनुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो । बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ। गृहमन्त्रीले बोल्न पाउनुपर्छ । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन। कांग्रेसले पुनर्विचार गर्नुपर्छ।’

सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिनुभयो। उहाँले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी दिनुभयो।

छलफलमा एमालेका प्रमुख सचेतक महेश बर्तौँला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र कांग्रेसकी सचेतक सुशिला थिङ सहभागी हुनुहुन्थ्यो भने सरकारको तर्फबाट कानूनमन्त्री पदम गिरी पनि सहभागी हुनु भएको थियो ।

आजै दिउँसो ३ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।