काठमाडौँ-नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता बताउनु भएको छ।
बिहीवार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले अहिलेको राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक भएको बताउनु भयो।
उहाँले संसदीय व्यवस्था समावेशी व्यवस्था रहेको र सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था भएपनि स्थायित्व र स्थिरताका निम्ति सफल हुन नसकेको बताउनु भयो।
उहाँले नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संविधान संशोधनका निमित्त नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो।
नेता केसीले भन्नुभयो, ‘प्रधानमन्त्री एउटै भए पनि निर्वाचनको १५ महिनाभित्र केन्द्रीय गठबन्धन तीनपटक परिवर्तन भएको छ। प्रदेशमा कोशीमा ६ वटा मुख्यमन्त्री परिवर्तन भए। हरेक प्रदेशमा तीन पटकभन्दा बढी सरकार परिवर्तन भए। त्यसकारण सबै पार्टीलाई संयोजन गरेर संविधान संशोधनका निम्ति नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता हो। समानुपातिक जस्तो अस्थिरतामा आधारित प्रणाली र अहिले देखिएको सम्पूर्ण अस्थिरताका कारक तत्वहरूलाई खोलेर एउटा नयाँ बाटो दिनुपर्ने आवश्यकता छ।’
प्रतिक्रिया