अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकासको पहिलो पूर्वाधार अझै सडक नै हो: मुख्यमन्त्री कँडेल

विकासको पहिलो पूर्वाधार अझै सडक नै हो: मुख्यमन्त्री कँडेल


सुर्खेत-राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो पूर्वाधार सडक नै भएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभएको छ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज मन्त्रालयमा गरेको कार्यक्रममा उहाँले कर्णाली र भेरी करिडोर निर्माणाधीन रहेको जानकारी दिनुभयो। कर्णाली प्रदेश सरकारको मुख्य प्राथमिकता सडक नै रहेको उहाँले स्पष्ट पार्नुभयो।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतका सबै जिल्लाका कार्यालय प्रमुख तथा अधिकारीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले होटलबाट योजना वितरण भन्ने समाचार आगामी दिन सुन्न नपरोस् भन्दै सचेत गराउनुभयो । कर्णालीका जनताले सहज र ढुक्कसँग यात्रा गर्न नपाएकाले अब त्यस्ता समस्या पार गर्नुपर्ने उहाँको भनाइ छ।

सबै निर्माण व्यवसायीको आचरण खराब नभएको बताउनुहुँदै बजेट निर्माणमा ध्यान नदिँदा विकास निर्माणका काम अलपत्र परेको उहाँको जिकिर थियो। अहिले बजेट सुनिश्चित भएका योजनामा निर्माण व्यवसायी र कार्यालय प्रमुखले सहकार्य गरेर निकास निकाली काम गर्न निर्देशन दिनुभयो।

जनताले निवेदन बोकेर मन्त्रालय धाउने परिस्थितिको अन्त्य गर्न उहाँको निर्देशन छ। बजेट कम खर्च गरी बजेट बचाएर कर्णालीको विकास नहुने भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले बताउनुभयो। उहाँले कार्यालय प्रमुखले जिल्लामा गएर सर्वदलीय सर्वपक्षीय छलफल गरी जनताले बुझ्ने गरी योजनाका बारे जानकारी गराउनुपर्ने र योजना सम्पन्न गर्न आग्रह गर्नुभयो।