बिर्तामोड-प्रेस चैतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ।
सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी जनाउँदै चौतारीले तालाबन्दी गरेको हो।
महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीको हस्ताक्षरमा आइतबार राति १९८ जना सदस्यको नाम सार्वजनिक भएको थियो।
सदस्यता सूची आफैँमा शुद्धीकरणको पूर्व निर्धारित विधि र मापदण्ड विपरीत रहेकोले तालाबन्दी गर्न बाध्य भएको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले बताउनुभयो।

चौतारीले जारी गरेको प्रेस विज्ञप्तिमा आस्था राखेकैकारण पत्रकारितामा सक्रिय, झापाली पत्रकारितामा नेतृत्वदायी भूमिका निर्वाह गरेका, पत्रकारिताको मूल प्रवाहमा आफ्नो सीप र मेहनत खर्चिएका पत्रकारको सदस्यता छानी छानी खोस्ने नियतले सार्वजनिक गरिएकोले घोर आपत्ति रहेको उल्लेख गरिएको छ।
शुद्धीकरणमा समान विधि र प्रक्रिया अवलम्बन गर्नुपर्नेमा त्यसलाई पनि नजरअन्दाज गरी मापदण्डको आधारभूत मान्यता समेत उल्लंघन हुने गरी सार्वजनिक भएको नामावली अविलम्ब सच्याउन चौतारीले माग गरेको छ।
प्रेस चौतारीले आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पत्रकारका सबै संघ संगठनलाई सार्वजनिक रुपमा अपिलसमेत गरेको छ।





प्रतिक्रिया