काठमाडौँ-राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग जुध्नका लागि साझा प्रतिबद्धतासहितको व्यवहारिक कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ।
विश्व वातावरण दिवसको अवसरमा आज यहाँ आयोजित ‘फोहर व्यवस्थापन र जलवायु सम्मेलन’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चुनौतीको रुपमा रहेको फोहर व्यवस्थापन गरी स्वच्छ वातावरण निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो। “जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्न पनि स्वच्छ वातावरण जरुरी रहेको छ”, उहाँले भन्नुभयो।
पानी, हावा र जलवायुको कुनै सीमा नहुने भएकाले जलवायु परिवर्तनसँग जुध्नका लागि विश्वको साझा मत जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ । गरिब, महिला, सीमान्तकृत वर्ग जलवायुजन्य समस्याबाट सबैभन्दा बढी जोखिममा परेको स्पष्ट पार्दै उहाँले नेपाल जलवायु परिवर्तनको बढी जोखिममा परेको देश भएकाले पनि समयमै थप सचेत हुन जरुरी रहेको बताउनुभयो ।
जलवायु परिवर्तनको प्रभाव कृषि, खाद्य, मानव स्वास्थ्य, ऊर्जा, खानेपानीमा परेको र जीविकोपार्जनसमेत जटिल बन्दै गएको जानकारी दिँदै अध्यक्ष दाहालले बाढीपहिरोलगायत समस्याबाट मुक्त हुन नेपालको अधिकारको रुपमा रहेको जलवायु कोषबाट बढीभन्दा बढी सहयोग ल्याउनुपर्ने उल्लेख गर्नुभयो। वातावरणमैत्री विकासको प्रक्रिया अवलम्बन गरी अगाडि बढ्नुको विकल्प नभएको उहाँको धारणा थियो । फोहर व्यवस्थापनका लागि आधुनिक तरिकाको प्रशोधन गरी थप सहजीकरण गर्नुपर्ने बताउनुभयो। जलवायु परिवर्तनसँग जुध्नका लागि जलवायु कोषबाट नेपालले सहज रुपमा राहत रकम पाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो। हरियाली प्रवद्र्धन गर्दै वातावरण संरक्षणमा विशेष ध्यान दिन उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनुभयो।
पूर्व वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले जलवायु परिवर्तनबाट परेको प्रभावलाई न्यूनीकरण गर्न आम नेपालीको सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको प्रभाव आमरुपमा देखिन थालेको उल्लेख गर्दै जलवायु परिवर्तनको नाममा गरिने अनावश्यक खर्च नियन्त्रण गरेर वास्तविक क्षेत्रमा खर्च गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले फोहर व्यवस्थापनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा नेपाल र भारतका जलवायु र फोहर व्यवस्थापनमा संलग्न विज्ञहरुको सहभागिता रहेको छ । सो अवसरमा जलवायु परिवर्तनबारे जानकारी दिलाउने उद्देश्यका साथ प्रकाशित ‘एबिसी फर क्लाइमेट’ नामक पुस्तकसमेत सार्वजनिक गरिएको थियो।




प्रतिक्रिया