अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनसुन पूर्वतयारी तथा प्रतिकार्यको काम सुरु भइसक्यो: गृहमन्त्री

मनसुन पूर्वतयारी तथा प्रतिकार्यको काम सुरु भइसक्यो: गृहमन्त्री


काठमाडौं-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो वर्षको मनसुनबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न र विपद्जन्य जोखिमका घटनामा तत्काल राहत उद्वार कार्यका लागि अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना गरेको जानकारी दिनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा यो वर्ष मनसुनबाट हुनसक्ने सम्भावित क्षति र जोखिमको विवरण उल्लेख गर्दै उनले गृहमन्त्रालय र मातहत निकाय मनसुनको सामना गर्न तयारी अवस्थामा रहेको बताउनु भएको हो।

यसका लागि निरन्तर एक महिना अघिबाटै मन्त्रालयले कार्ययोजना बनाइरहेको बताउनुहुँदै उहाँले कार्यकारी समितिको मंगलबार बसेको बैठकले मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्मका लागि गृह मन्त्रालय अन्र्तगतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको सहसचिवको नेतृत्वमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको स्थापना गर्ने निर्णय गरेको जानकारी सदनलाई गराउनुभयो । जसमा सबै सुरक्षा निकाय र विपद व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरुले कार्य गर्नेछन् ।

गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘कमाण्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिई जोखिमको आँकलन गरी प्रभावका आधारमा पूर्व तयारी र विपद्घा घटनापछिको प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न गराउन वान्स स्टप्स सेन्टरको रुपमा संयोजनकारी भूमिका खेल्ने छ । यसै पोस्टले विपद् व्यवस्थापनका लागि परिचालित हुने सरकारी, गैर सरकारी एवं वैदेशिक सहयोगबाट प्राप्त हुने सामग्रीको परिचालनमा पनि समन्वय गर्नेछ ।’

मन्त्री लामिछानेले आवश्यक पर्दा कमाण्ड पोस्टले गृहमन्त्री देखि प्रधानमन्त्री सम्मलाई प्रत्यक्ष समन्वयन गर्न सक्ने गरी अधिकार सम्पन्न बनाइएको जानकारी दिनुभयो ।

‘कमाण्ड पोस्टले अन्य कुनै स्थानमा समन्वय गर्नु परेमा पनि सो कार्य गर्ने बताउनुभएका उहाँले उक्त पोस्टलाई तत्काल कार्यान्वयनमा ल्याइएको जानकारी दिँदै भन्नुभयो, ‘काँही कतै समन्वयनको अभावको कारणले गर्दा सामग्रीहरु नजाने, पैसाको निकासी नहुने, कुरामा विगतमा भएका अनुभवबाट सिकेर कमाण्ड पोस्टलाई पूर्ण अधिकार प्रदान गरिएको छ । यसले आवश्यक पर्दा गृहमन्त्री, सचिव र आवश्यक परे प्रधानमन्त्रीसँग समेत समन्वयन गर्न सक्ने गरी अधिकार सम्पन्न बनाइएको छ,’ ।

विपद्का सूचना लिनदिन कमाण्ड पोस्टले आजैबाट काम थालिसकेको बताएका मन्त्री लामिछानेले चौविसै घण्टा ११४९ नम्बरको टोल फ्रि नम्बर मनसुन नसकिँदासम्म चालु राख्ने जानकारी दिनुभयो। यस वर्षको मनसुनअवधिभर १८ लाख जनसंख्या प्रत्यक्ष प्रभावित हुने अनुमान गृह मन्त्रालयले गरेको छ ।

मनसुनमा अत्यधिक वर्षा हुने अनुमान गरिएकाले बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसंख्यालाई असर गर्ने अनुमान गरिएको छ । सम्भावित प्रभावित मध्ये १८ हजार परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउनुपर्ने अनुमान मन्त्रालयले गरेको छ । यो वर्ष मनसुन जेठ ३१ गते नेपाल भित्रिएर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ ।