अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोक सेवा आयोग ७४औँ वार्षिकोत्सव मनाउँदै

लोक सेवा आयोग ७४औँ वार्षिकोत्सव मनाउँदै


काठमाडौँ-लोकसेवा आयोग आगामी असार १ गते ७४औँ वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ। आज यहाँ बसेको सरोकार भएका व्यक्तिको बैठकमा ७४औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइने जानकारी दिइएको हो।

आयोगले निजामती सेवाका साथै सङ्घीय सरकारी सेवा, सुरक्षा निकाय र अन्य सरकारी सेवा तथा सङ्गठित संस्थामा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्दै आएको छ। आयोगले हरेक आर्थिक वर्षको पहिलो दिन पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै आएको छ। योग्यता, निष्पक्षता र स्वतन्त्रतालाई मूल मर्म बनाउने भएकाले आयोगका परीक्षालाई विश्वसनीयताको कसीबाट हेर्ने गरिएको छ। 

यसैबीच, यस वर्षको वार्षिकोत्सव मनाउनका लागि एउटा मूल समारोह समिति र चारवटा विभिन्न उप–समिति गठन भएको छ। सो सन्दर्भमा विभिन्न नारासमेत तय गरिएको आयोगले जनाएको छ। 

आयोगका सदस्य एवं अतिथि सत्कार तथा प्रचारप्रसार समितिका संयोजक वीरबहादुर राईको संयोजकत्वमा बसेको बैठकले ७४आँै वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ।

सो सन्दर्भमा राष्ट्रिय समाचार समिति ९रासस०ले आयोगको कार्यसम्पादन र गतिविधिका विषयमा सम्बन्धित विषय विज्ञका अन्तर्वार्ता र मूल कार्यक्रमसहित समाचार सम्प्रेषण गर्नेछ। साथै नेपाल टेलिभिजन र रेडियो नेपालले परिसंवाद र अन्तरसंवादसम्बन्धी कार्यक्रम उत्पादन र प्रचारप्रसार गर्नेछन्। गोरखापत्र दैनिकले आयोगबाट भएका कामकारबाहीसहित प्रकाशकीय सामग्री प्रकाशित गर्नेछ। 

विज्ञापन बोर्डमार्फत सरकारी तथा निजी सञ्चार माध्यमबाट लोक कल्याणकारी विज्ञापनका रुपमा आयोगको सन्देश प्रवाह हुने संयोजक राईले जानकारी दिनुभयो। आयोगको ६४औँ वार्षिक प्रतिवेदनअनुसार, सङ्घमा ५३ हजार ७६, सात प्रदेशमा जम्मा १७ हजार २३ र सात सय ५३ स्थानीय तहमा ६५ हजार छ सय चार स्वीकृत दरबन्दी रहेको छ। 

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० को अवधिमा आयोगबाट पाँच सय तीन बढुवा सूचना, एक सय ४७ आन्तरिक प्रतियोगितात्मक परीक्षा, दुई सय ९९ खुला प्रतियोगितात्मक परीक्षा र छ सय ६७ वटा विभिन्न समावेशी समूहका विज्ञापन र बढुवाका लागि सूचना प्रकाशित भएको थियो। 

सो अवधिमा उक्त विज्ञापनबाट बढुुवातर्फ नौ सय ९०, आन्तरिकतर्फ दुई सय ८१, खुलातर्फ एक हजार ८० तथा महिला, आदिवासी, जनजाती, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रका समावेशी प्रतियागितातर्फ एक हजार छ सय पदका लागि दरखास्त माग गरिएको थियो। 

राष्ट्रपतिबाट संवैधानिक परिषद्को सिफारिसमा आयोगका अध्यक्ष र चारजना सदस्य नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। आयोगले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। 

आजको बैठकमा आयोगका सचिव राजकुमार श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड नेपाल र सरकारी सञ्चारमाध्यमका प्रतिनिधिहरु सहभागिता हुनुहुन्थ्यो।