काठमाडौं-राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यूआर कोडको माध्यमबाट कारोबार गर्न सक्ने गरी डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाबीच सम्झौता भएको छ।
यसले नेपालभित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ। यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सीमा र परिधिभित्र रहेर गर्न सकिने बैंकले जनाएको छ। एनसीएचएलको माध्यमबाट यस्ता कारोबारहरु हुनेछन्।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का बीच यस्तो सम्झौता भएको हो। सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो ।
सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र विभागीय प्रमुख ऋषि राम ढकाल उपप्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारी र मनिष पटेलको उपस्थिति थियो।
हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८७ शाखा कार्यालय, ३०५ एटीएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउन्टर, क्यूआर कोड सेवा, पस सेवा सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (विना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा विना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरु समेत सञ्चालनमा छन्।




प्रतिक्रिया