अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छः रक्षामन्त्री उप्रेती

खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छः रक्षामन्त्री उप्रेती


सर्लाही-रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाललाई नेपालको खेल क्षेत्र विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ।

आज सर्लाहीको लालबन्दीमा दोस्रो लालबन्दी नेपाल क्योकुशिन-कान कराते राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल क्षेत्रमार्फत नेपालको पहिचान स्थापित हुँदै गएकाले यसको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। ‘हिमालयको देश भनेर नेपालको पहिचान स्थापित भएजस्तै पछिल्लो समय खेल क्षेत्रले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित हुँदैछ तर विशेग गरी खेल क्षेत्रको विकासका लागि अझै धेरै काम गर्न बाँकी छन्। यसतर्फ हामी सबै गम्भीर बन्नुपर्छ’, उहाले भन्नुभयो।

खेलको माध्यमबाट विश्वमा नेपालको नाम उजागर गरेका खेलाडीको उचित संरक्षणका लागि पनि मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ। ‘नेपाली खेलाडीले पोषण, आवश्यकताअनुसारको खेलमैदान पाएका छैनन् तथापि उच्च मनोबलका साथ देशविदेशमा गएर खेल खेल्नु सराहनीय छ’, मन्त्री उप्रेतीले भन्नुभयो, ‘अब नेपाल सरकारले पनि खेल क्षेत्र र खेलाडीको विकासका लागि काम अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ । यसमा तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ।’

खेल क्षेत्रमा भौतिक पूर्वाधार र उपयुक्त वातावरण निर्माण गर्न नसक्नुका साथै खेलाडी पलायन तथा युवा खेलाडी दुव्र्यशनीमा लाग्ने समस्या देखिएकाले नयाँ योजनासहित संरक्षण, सम्वर्द्धन र प्रोत्साहनका योजनासहित राज्यले आवश्यक योजना अगाडि बढानुपर्ने खाँचो रहेको मन्त्री उप्रेतीको भनाइ छ।

यसैगरी उहाँले मधेश प्रदेशको विकासका लागि महत्वपूर्ण मानिएको सुनकोशी मरिन डाइभर्सन, काठमाडौँ निजगढ दु्रतमार्ग निर्माणसम्पन्न भए यहाँको अवस्था बदल्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिनुभयो।

नेपाल क्योकुशिन-कान कराते सङ्घले लालबन्दी-७ स्थित कृषि विकास बैंकको चौरमा आयोजित प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय क्लबका समेत गरी २५० जना खेलाडी सहभागिता रहेको क्योकुशिन-कान कराते प्रशिक्षक शशि देवकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्र र विजयी खेलाडीलाई प्रमाणपत्र, ट्रफी, मेडल र नगदसहित पुरस्कृत गरिनेछ। आयोजकले महिला तथा पुरुष खेलाडीलाई २५ केजीदेखि माथि विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउने जनाएको छ।