काठमाडौं- रुकुम पश्चिममा वर्ल्डलिंक कम्युनिकेसका कामदार सवार बोलेरो दुर्घटना हुँदा तीनजना युवाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना युवा घाइते भएका छन्।
मुसिकोट नगरपालिका १ नेपानेमा गएराति करिब नौ बजे कर्णाली प्रदेश ०२- ००१ च ०४१३ बोलेरो गाडी दुर्घटना हुँदा तीनजना युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख डीएसपी नवराज पोखरेलले जानकारी दिनुभयो। ‘मुसिकोट नगरपालिका १ खलंगाबाट बाँफिकोट गाउँपालिकाको ४ छिनखेत जाँदै गरेको बोलेरो सडकबाट करिब दुईसय मिटर तल खसेर दुर्घटना हुँदा तीन युवाको मृत्यु भएको हो,’ डीएसपी पोखरेलले भन्नुभयो ‘दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।’
दुर्घटनामा बोलेरो चालक सुर्खेतको गुर्भाकोट नगरपालिका ८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ, सुर्खेत बराहताल गाउँपालिका ५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्की र बर्दियाको ठाकुरबाबा नगरपालिका ५ कालीगौडीका २७ वर्षीय सौगात विकको मृत्यु भएको हो।
राति दुर्घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले पुर्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका डीएसपी पोखरेलले बताउनुभयो।
प्रतिक्रिया