अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश सभा बैठक सुरू, मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन कति सहज ?

गण्डकी प्रदेश सभा बैठक सुरू, मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन कति सहज ?


पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ। 

मुख्यमन्त्री पाण्डेले  बैठकमा विश्वासको मतको प्रस्ताव  पेस गर्नुभएको छ।

नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा ३ अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त हुनु भएको हो । उहाँले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनुपूर्व नै विश्वासको मत लिन लाग्नु भएको हो।


मुख्यमन्त्रीका नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर, अहिलेको प्रदेशसभाको अङ्कगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन। ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन्।

विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन चाहिन्छ। विपक्षी एमाले-माओवादी केन्द्रको गठबन्धनमा रहेका प्रदेशसभा सदस्यबाहेक सबैले मत दिँदा पनि उहाँलाई बहुमत पुग्दैन ।

मनाङ ‘ख’ बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले भने ३० प्रदेशसभा सदस्यको समर्थन जसले जुटाउँछ उसैलाई निर्णायक मत दिने बताउँदै आउनु भएको छ। गुरुङ अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बन्नभएको थियो।

यदि राप्रपाका दुई र स्वतन्त्र प्रदेशसभा सदस्य गुरुङले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने अवस्था आए पनि पाण्डेलाई सरकार टिकाउन थप एक मतको खाँचो पर्छ।