अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनता र देशहितका लागि दलीय स्वार्थबाट माथि उठेर बहस गरौँः उपसभामुख राना

जनता र देशहितका लागि दलीय स्वार्थबाट माथि उठेर बहस गरौँः उपसभामुख राना


काठमाडौँ-उपसभामुख इन्दिरा रानाले संसद्मा हुने छलफललाई जनताले नजिकबाट नियाली रहेकाले व्यक्ति, परिवार र दलीय स्वार्थबाट माथि उठेर बहस गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

सङ्घीय संसद् मानव संसाधन विकास महाशाखाद्वारा आज यहाँ आयोजित संसदीय प्रभावकारिता सम्बन्धमा पूर्वसांसद मञ्चसँगको अन्तरक्रियामा उहाँले सविधानको मर्म र भावनाअनुरुप समानता, समावेशी र विविधतालाई पनि सबैले आत्मसात् गर्नुपर्ने खाँचो आँैल्याउनुभयो। 

उपसभामुख रानाले भन्नुभयो, 'पूर्वसांसदका अनुभव, विज्ञता र ज्ञानको विश्वविद्यालय भएकाले उहाँहरुको सुझावका आधारमा संसद्लाई जनताको बहसको थलो बनाउनुपर्छ।' पूर्वसांसद शिवजी यादवले सांसद भनेको व्यक्ति मात्र नभई संस्था भएकाले उसको पहिचान र मर्यादाका लागि अध्ययन र अनुसन्धान गर्ने सचिवालयको खाँचो रहन्छ भन्नुभयो।

पूर्वसांसद विष्णुबहादुर राउतले सबै विधायकको ऊर्जालाई जनता र राष्ट्रको हितमा लगाउन निर्वाचन क्षेत्र, जिल्ला र राष्ट्रका समसामयिक विषय निरन्तर उठाउनुपर्नेमा जोड दिनुभयो। पूर्वसासद धना खतिवडाले सांसदलाई उद्योगी तथा व्यापारी जस्तो धनी बन्नेतर्फ नभई जनता र देशप्रतिको दायित्व निर्वाहका लागि कोसिस गर्न सुझाव दिनुभयो । 

विषय विज्ञका रुपमा संविधानसभा सदस्य खिमलाल देवकोटाले स्वार्थ बाझिने, भ्रष्टाचार बढाउने र मुलुकलाई चुनौती खडा गर्नेजस्ता काममा सांसद लाग्न नहुने बताउनुभयो। उहाँले भन्नुभयो, 'संसद्ले नै सरकार चलाउने र नियन्त्रण गर्ने हो, लोकतान्त्रिक शासन प्रणालीमा सरकारले संसद्लाई खुम्च्याउन सक्दैन । त्यसका लागि संसद् र सांसद प्रभावकारी बन्नुपर्छ।'

कार्यक्रममा सांसदहरु प्रेम सुवाल, सीता मिजार, शिव नेपाली, नारायणी शर्मा, रोशन कार्की, पूर्वसांसद अजय द्ववेदीलगायतले संसद् सरकारको नियन्त्रणमा रहेको तथा सदनमा उठाइएको विषय सम्बोधन नभएको भनी असन्तुष्टि प्रकट गर्नुभयो।

उहाँहरुले संसद् र सांसदको मुख्य जिम्मेवारी बजेट स्वीकृति, संसदीय खबरदारी, नीति र विधि निर्माण तथा अनुगमन नियन्त्रण भएपनि अझै पनि मूल विषयमै अलमलमा परेको धारणा राख्नुभयो।

सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले जनताका सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद्लाई प्रभावकारी र जनउत्तरदायी तुल्याउन सांसदमा अध्ययनशिलता र धैर्यताको खाँचो औँल्याउनुभयो।

उहाँले भन्नुभयो, 'जनप्रतिनिधिका रुपमा संसद्मा आएका विधायक मुख्यरुपमा कानुन निर्माणको भूमिकामा रहनुपर्ने भएकाले कसैको पक्ष, विपक्ष नभई निष्पक्ष भएर काम गर्नुपर्छ।'