अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक अस्थिरताले महत्वपूर्ण काम समयमै हुन सकेनन्ः मुख्यमन्त्री कार्की

राजनीतिक अस्थिरताले महत्वपूर्ण काम समयमै हुन सकेनन्ः मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेश सरकार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशमा महत्वपूर्ण काम समयमै हुन नसकेको धारणा राख्नुभएको छ। प्रदेश योजना आयोगद्वारा आयोजित ‘प्रदेश विकास परिषद्’ बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले समयमै आयोजना सम्पन्न गर्नेतर्फ सरकारको ध्यान गएको बताउनुभयो।

मुख्यमन्त्री कार्कीले सो वैठकको छलफलका क्रममा उठेका मूलभूत विषय नयाँ बजेटमा समावेश गरिने बताउनुभयो। उहाँले सप्तकोशी नदी किनारमा रहेको महाकुम्भ क्षेत्रको विकास गरी धार्मिक पर्यटक बढाउन सकिने उल्लेख गर्नुभयो। 

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले विकास निर्माणमा  सङ्घ र प्रदेश सरकारबीच तालमेल नमिलेको बताउनुभयो। पन्ध्रौँ पञ्चवर्षीय योजना सकिन लागेको र १६औँ पञ्चवर्षीय योजना लागू हुने सङ्घारमा देशभित्रका सबै सम्भावना र स्रोत परिचालन गर्ने गरी योजना बन्नुपर्ने उहाँको भनाइ थियो। डा.खतिवडाले कोशी प्रदेश सरकारलाई जलस्रोत, कृषि, ऊर्जाका क्षेत्रलाई व्यापक उपयोग गरी उदाहरणीय काम गर्न सुझाव दिनुभयो।

प्रदेश विकास परिषद्का सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सङ्घीयता कार्यान्वयन प्रभावकारी ढङ्गले हुन नसकेको बताउनुभयो। उहाँले प्रदेश सरकारसमक्ष नयाँ पुस्तालाई आशा जगाउने गरी योजना बनाउन र कार्यान्वयन गर्ने जिम्मेवारी रहेको बताउनुभयो।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले आवधिक योजना आर्थिक वृद्धिदरलाई स्थायी बनाउन, निजी र सहकारी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्न र वैदेशिक लगानी भित्र्याउने गरी निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।

प्रदेश योजना आयोगका सचिव मिमास अधिकारीले दोस्रो आवधिक योजना बनाउनका लागि कोशी प्रदेशभित्र एक हजार जनाको सुझाव लिएको र यसका आधारमा निर्माण भएको दस्तावेजलाई अझ समृद्ध र सुदृढ बनाउन आजको बैठक आयोजना भएको जानकारी दिनुभयो।

उहाँले आगामी साउन १ गतेदेखि लागू हुने योजनालाई सफल बनाउन आजको छलफलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै पाँच वर्षका लागि बन्ने यो दस्तावेजमा महत्वपूर्ण बुँदा समावेश हुने विश्वास व्यक्त गर्नुभयो। बैठकमा कोशी प्रदेश सरकार मन्त्री, प्रदेश योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका सचिव, विकास परिषद्का सदस्य, कोशी प्रदेशसभाका विषयगत समितिका सभापति, स्थानीय तहका प्रमुख वा अध्यक्षको सहभागिता रहेको छ।