काठमाडौं- नेपालका करिब ७० प्रतिशत वडाहरुमा वर्षैभरी यातायात सञ्चालन हुन थालेको छ । ३० प्रतिशत वडामा आंशिक रुपमा मात्र यातायात सञ्चालन हुने गरेको छ । यसैगरी ६७ प्रतिशत वडाका बासिन्दाले घरबाट ३० मिनेटको दुरीमा यातायातको सुविधा पाउन थालेका छन् भने २४ प्रतिशत वडामा नगर यातायात पनि सञ्चालन हुने गरेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ अनुसारको सामुदायिक प्रतिवेदनमा उक्त तथ्याङ्क उल्लेख गरिएको छ । सुगम भएर पनि मधेस प्रदेशका १७ प्रतिशत वडामा हिंउदको मौसममा मात्र यातायात सञ्चालन हुने गरेको छ । मधेसका ८३ प्रतिशत वडामा बाह्रै महिना यातायातको सुविधा उपलब्ध रहेको छ । प्रतिवेदन प्रष्तुत गर्दै कार्यालयका निर्देशक राजन सिलवालले यातायातको हिसाबले सबै भन्दा कम पहुँच कर्णाली प्रदेशका वडाहरुमा रहेको छ । जहाँका ३८.४ प्रतिशत वडामा मात्र बाह्रै महिना सवारी साधन सञ्चालन हुन्छन् । आधा घण्टाको दुरीमा यातायातको पहुँचमा मधेसका ७८ प्रतिशत वडाहरु छन् भने सबैभन्दा कम कर्णालीमा ४३.२ प्रतिशत वडाहरु छन् । नगर यातायातको सुविधा भएका वडा सबैभन्दा बढी बागमतीमा ३३.३ र सबैभन्दा कम सुदुरपश्चिम र कर्णालीमा १३.६ वडाहरु मात्र स्थानीय यातायातको पहुँचमा छन् ।

राष्ट्रिय जनगणना २०७८ मा संकलन गरिएका सामुदायिक प्रश्नवालीलाई विष्लेषण गरेर तयार गरेको सामुदायिक प्रतिवेदन र प्रादेशिक जनसाङ्ख्यिक प्रतिवेदन प्रमुख तथ्याङ्क अधिकारी अर्जुन प्रसाद पोखरेल र राष्ट्रिय योजना आयोगका सचिव डा.तोया नारायण ज्ञवालीले विमोचन गर्नुभयो । सामुदायिक प्रतिवेदनले नेपालका सामुदायिक संरचनाहरुको अवस्थाका बारेमा विस्तृत तथ्याङ्क समेटेको छ । पहिलो पटक सामुदायिक प्रतिवेदन सरकारका तर्फबाट प्रकाशन गरिएको हो । २०४८ सालको जनगणनामा सामुदायिक प्रश्नावली सोधिएपनि नतिजा सार्वजनिक गरिएको थिएन ।
प्रतिवेदनमा २६.७ प्रतिशत वडाहरुमा ३० मिनेटको पैदल दुरीमा मेडिकल डाक्टर सेवा उपलब्ध रहेको छ । त्यसैगरी ५४.९ प्रतिशत वडाहरुबाट आधा घण्टामा सुरक्षा वेसा वा प्रहरी कार्यलय पुगन सकिने देखिन्छ । २२ प्रतिशत वडाको आधा घण्टाको दुरीमा बैंक् तथा वित्तीय संस्थाहरु रहेका छन् ।
सिलवालका अनुसार नेपालका ९९ प्रतिशत वडाहरु कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिममा रहेका छन् । ६ हजार ७ सय ४३ वडा मध्ये ६ हजार ६ सय ६४ वटा वडाहरु कुन कुनै प्रकारको प्राकृतिक जोखिममा रहेका छन् । यस्तो जोखिम मध्ये सबैभन्दा बढी बाढीको जोखिम भएका ६३.६ र सबै भन्दा कम हिमताल विष्फोटनको जोखम सबैभन्दा कम अर्थात १.२ प्रतिशत वडाहरुमा देखिन्छ ।
कार्यक्रममा कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले स्वागत तथा कार्यक्रमको उद्धेश्य बारेमा स्पष्ट पार्नु भएको थियो ।




प्रतिक्रिया