अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी आर्थिक वर्षदेखि राससले २४सै घण्टा सेवा प्रवाह गर्ने: सञ्चारमन्त्री शर्मा

आगामी आर्थिक वर्षदेखि राससले २४सै घण्टा सेवा प्रवाह गर्ने: सञ्चारमन्त्री शर्मा


काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ देखि राष्ट्रिय समाचार समितिको समाचार सेवा २४सै घण्टा सञ्चालन गरिने बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले तथ्यमा आधारित विश्वसनीय समाचार सेवा दिँदै आएको राससले आगामी आर्थिक वर्षदेखि २४सै घण्टा सेवा प्रवाह गर्ने जानकारी दिनुभयो।

मन्त्री शर्माले राससको २४ घण्टाको सेवाबाट आमसञ्चारमाध्यम र नागरिकले समयमै सत्यतथ्य र आधिकारिक समाचार प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले राससको २४ घण्टे सेवा सञ्चालन र मातृ भाषामा समाचार सम्प्रेषणका लागि सरकारले आवश्यक बजेट व्यवस्था गरेको बताउनुभयो। राससले हाल बिहान ६ः०० देखि राति ११ः०० बजेसम्म सेवा प्रवाह गर्दै आएको छ।

यसैगरी मन्त्री शर्माले राससको श्रव्यदृश्य सेवाको निरन्तरताका साथै मैथिली र नेवारी भाषामा समेत समाचार सेवा प्रवाह गर्न लागेको जानकारी दिनुभयो। राससले यसअघि अवधि भाषामा समाचार सम्प्रेषण गर्दै आएको छ।

मन्त्री शर्माले पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष पत्रकारिताको पक्षमा प्रतिबद्ध रहेको बताउनुभयो।