काठमाडौं-बैंकिङ्ग समाचारले आयोजना गर्ने ‘नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ कार्यक्रमको पूर्व सन्ध्यामा बिहीबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त अन्तरक्रिया कार्यक्रममा आगामी असार ११ गते हुने डिस्कोर्सका मुख्य चार सत्रहरुमा हुने बहसको विषयहरु र भविष्यमा त्यसले पार्ने प्रभावबारे गहन छलफल गएिको छ। बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले गभर्नर महाप्रसाद अधिकारीबाट कार्यक्रम उद्घाटन हुने जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नेपालले पहिलो पटक १३ करोड भारु रेमिट्यान्सको रुपमा भित्र्याएको र अबको १० वर्षका लागि अध्ययन गर्नुपर्ने बताउँदै डिस्कोर्स महत्वपूर्ण हुने बताउनु भयो।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेतीले वैदेशिक रोजगार बोर्डको कामबारे जानकारी दिनुभयो। यसैगरी अर्थशास्त्री सुर्यबहादुर थापाले बैंकिङ्ग क्षेत्रले स्प्रेड रेटबारे सोच्नुपर्ने अवस्था आएको र निजी क्षेत्रको गुनासो मेट्न मौद्रिक नीति आउने विश्वास व्यक्त गर्नुभयो। जनसांख्यिकीय तथ्यांक विशेषज्ञ चेतन अधिकारीले रेमिट्यान्स उद्योग फस्टाउँदै गएको भन्दै कहिलेसम्म देश रेमिट्यान्समा निर्भर रहने भन्ने प्रश्न उठाउनु भयो।

नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभाग प्रमुख रामु पौडेलले मौद्रिक नीतिका विषय सर्वसाधारणलाई बुझाउन आवश्यक रहेको बताउनु भयो। फाइनान्सियल लिट्रेसी नेपालका अध्यक्ष भुवन दाहालले प्रत्येक प्रदेशमा वित्तीय साक्षरता ट्रेनर आवश्यक रहेको र वचतसँगै कमाउने विषयमा पनि सिकाउनुपर्ने बताउनु भयो।
नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले वित्तीय साक्षरतामा गरिएको लगानीको प्रभावकारिता अध्ययन गर्नुपर्ने बताउँदै कतिपय व्यवसायिको असफलता वित्तीय साक्षरता अभावकै कारण भएको टिप्पणी गर्नुभयो।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले वित्तीय साक्षरतामा सानो ओटिपीले ठूलो क्षति भएको बताउनु भयो । राष्ट्रिय वाणिज्य बैंकका डेपुटि सीईओ पवन रेग्मीले कतिपय सांसदहरुलाई पनि वित्तीय साक्षरता अभाव रहेको बताउनुभयो। नेपाल राष्ट्र बैंकका निर्देशक कृष्णराम ढुन्जुले कोरोनाकालबाट डिजिटल भुक्तानीले प्रसय पाएको र नियमनमा परिवर्तन आवश्यक रहेको बताउनुभयो। फिन्टेक अलाइन्सका संजिव सुब्बाले डिजिटल भुक्तानीमा गभर्नर महाप्रसाद अधिकारीको योगदान उल्लेख गर्नुभयो। एनसिएचएलका सिईओ निलेशमान सिंह प्रधानले डिजिटल भुक्तानी र क्रस बोर्डर पेमेन्टका विषयमा डिस्कोर्समा बहस उठ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको समापन डेपुटी गभर्नर बम बहादुर मिश्रले गर्नुहुनेछ। साथै, कार्यक्रमको विशेष सत्रमा छलपलका लागि अर्थमन्त्री वर्षमान पुनको उपस्थिति रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधी क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहने छ।
मुख्य रुपमा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरु, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशका बारेमा छलफल हुने छ। दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ ले बैंकिङ्ग क्षेत्रका समस्याहरुको समाधान खोज्न र नेपालमा बैंकिङ्ग प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया