काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक परिवेश अनुसार नेपाली कांग्रेससँग सत्ता साझेदारीको गरेको बताउनु भएको छ।
आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।
अध्यक्ष ओलीले नेपाली कांग्रेस-एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको प्रष्ट पार्नुभयो।
अध्यक्ष ओलीले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘अनुभवहरूले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो। यो यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौं। कसैको नेतृत्वमा आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्नेकुरा केही पनि भएको छैन । मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरूको रक्षा सम्वर्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो।’
राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उहाँको भनाइ छ।
एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको ओलीले बताउनु भयो।
प्रदेशमा महीना दिनमा सरकार बनाउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको अध्यक्ष ओलीले बताउनु भयो। संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने उहाँले चेतावनीसमेत दिनुभयो ।
उहाँले भन्नभयो, ‘प्रदेशहरूमा महिना-महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो। विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढंगले करप्शनमा, अस्थिरतामा यस्तोमा जाने काम भयो। स्वार्थमा काम गर्ने। स्वार्थलाई अग्र भागमा राख्ने यस प्रकारका कामहरु देखिएका छन्। यसलाई कसरी रोक्ने ? संघीयतालाई सफल बनाउने दिशामा जानुपर्छ नि। त्यो पक्षमा विचार नै नगर्ने, खालि संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन सक्दैनन्। संविधान गतिशील कुरा हो। समाजको पथप्रदर्शक हो । संविधानको समयानुकूल रुपमा परिमार्जित हुँदै जानुपर्छ। त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौँ।’







प्रतिक्रिया