अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विज्ञापन चुहावट नियन्त्रण गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

विज्ञापन चुहावट नियन्त्रण गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन


काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताउनुभएको छ।

बुधबार विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिनुहुँदै मन्त्री गुरुङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको हो।

उहाँले ३० अर्बको विज्ञापन बजारमा १३ अर्ब मात्र कारोबार हुनु र बाह्य विज्ञापनबाट स्थानीय तहमा उठ्नुपर्ने २० अर्बमा दुई अर्बमात्र राजस्व सङ्कलन हुने परम्पराको अन्त्यका लागि सङ्घीय सरकार, प्रदेश र स्थानीय तहले साझा प्रयास गर्नुपर्ने बताउनुभयो। विज्ञापन बजारको विकास र विस्तारका लागि कार्ययोजना तयार गर्न समेत मन्त्री गुरुङले बोर्डलाई निर्देशन दिनुभयो।

विज्ञापन बजारको बारेमा जानकारी गराउनुहुँदै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) नियमावलीको पहिलो संशोधनबाट विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण हुने बताउनुभयो। उहाँले सञ्चार माध्यमको विलको प्रतिलिपि राखेर मात्र विज्ञापनको रकम भुक्तानी गर्न पाउने व्यवस्था कानुनमा गरिएको जानकारी गराउनुभयो। विज्ञापन एजेन्सीको सेवा शुल्क पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको बोर्डका अध्यक्ष हुमागाईँको भनाइ छ।

बाह्य विज्ञापन (होर्डिंङ्ग बोर्ड) तर्फ राजस्व सङ्कलन स्थानीय तहबाटै गराउन कानुनको निर्माण भइरहेको र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय तहसँग बोर्डले समन्वय गरिरहेको अध्यक्ष हुमागाईँले जानकारी गराउनुभयो ।