काठमाडौं-नेकपा (एमाले)का नेता सूर्य थापाले नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच एकता नहुने स्पष्ट पारेका छन्।
नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत पुनको अभिव्यक्तिलाई भ्रम र आत्मरतिको संज्ञा दिँदै एमालेमा पार्टी एकताका लागि कुनै रुचि नरहेको बताएका हुन्।
उनले एमालेको नीति प्रदेश सरकारमा सहकार्य गर्ने, संसद् र सडकमा संयुक्त सङ्घर्ष गर्ने तथा पार्टीहरूबीच मुद्दाका आधारमा कार्यगत एकतासम्म गर्ने रहेको उल्लेख गरेका छन्।
थापाले सामाजिक सञ्जाल लेखेका छन्, ‘नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनका यस्ता भ्रम र आत्मरति पनि समाचार बन्दारहेछन् ! उनीसँग एकता गरिहाल्न हत्ते उनकै नेता, कार्यकर्ताको होला, नेकपा (एमाले)का कसैको छैन।’
स्थानीय तहमा समझदारीका आधारमा स्थानीय निर्वाचनकेन्द्रित तालमेल हुन सक्ने भए पनि पार्टी एकता भने सम्भव नरहेको नेता थापाले बताएका छन्। ‘पार्टी एकता हुने छैन, गरिने छैन र यस्ता वाहियात भ्रममा पर्नुपर्ने पनि जरूरी छैन,’ थापाले लेखेका छन्।
नेता थापाले विभिन्न प्रदेशमा भइरहेका राजनीतिक गतिविधितर्फ सङ्केत गर्दै विगतको सहकार्यबाट के उपलब्धि भयो र आगामी दिनमा के हुन सक्छ भन्नेबारे पार्टीपङ्क्ति जानकार रहेको बताएका छन्।
नेता थापाले व्यङ्ग्यात्मक शैलीमा भनेका छन्, ‘विभिन्न प्रदेशमा उनै महोदय आजकल के–के गर्दै हिँडिरहेका होलान् ? कम्तीमा पार्टीपङ्क्तिलाई त्यसको जानकारी र हेक्का त छ नि !’
पार्टी एकताबारे अनावश्यक भावुक नहुन पुनलाई सुझाव दिँदै थापाले लेखेका छन्, ‘लोभ, स्वार्थ, पदका भोकाहरूसँग भेटेर उनी अनावश्यक भावुक हुनुभएको हो भने कृपया होसमा आए हुन्छ, भ्रममा नबाँच्नुहोस्, एमाले चिन्न धेरै बाँकी र कठिन छ।’
नेता थापाको यस अभिव्यक्तिले एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच तत्काल पार्टी एकताको सम्भावना नरहेको सन्देश दिएको छ।




प्रतिक्रिया