काठमाडौँ-उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ।
आज मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहसहितको टोलीले गरेको भेटमा उहाँले आफू निर्माण व्यवसायीका समस्याबारे जानकार रहेको र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। ‘विकास निर्माणमा व्यवसायीको भूमिकालाई मैले राम्रोसँग बुझेको छु, समस्या समाधनका लागि मैले प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उपप्रधानमन्त्री सिंहले भन्नुभयो।
उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भुक्तानी नपाएको बताउनुभयो। उहाँले सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा पनि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाउनुभएको थियो।
‘हामीले उपप्रधामन्त्रीज्यूसमक्ष आफ्ना माग राख्यौँ, हाम्रो समस्यामा उपप्रधानमन्त्रीज्यु सकारात्मक देखिनुभएको छ’, उहाँले भन्नुभयो। सो अवसरमा महासङ्घले उपप्रधानमन्त्री सिंहलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएको थियो।
प्रतिक्रिया