काठमाडौं-धादिङको रुबीभ्याली गाउँपालिका-४ स्थित कलदाङमा बोलेरो जीप दुर्घटनामा परी घाइते भएका ६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ। दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो जीप शुक्रबार बिहान करिब १ः५५ बजे अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको थियो।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४, बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ का ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीय मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ घाइते भएका छन्।
त्यसैगरी बोलेरो चालक धादिङको खनियाबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ का २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन्।
घाइतेमध्ये कान्छीमाया तामाङ, पिटर तामाङ, आमोष तामाङ, मिजोङ तामाङ, चेरोङ तामाङ र चालक डम्बर तामाङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
अन्य तीन घाइते कमल घले, विमल तामाङ र ललित बोम्जनलाई बोराङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धादिङ अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार बतासे दोभानमा एकादशी मेलाको पूजा गरेर लापातर्फ फर्किने क्रममा बोलेरो दुर्घटनामा परेको थियो।



प्रतिक्रिया