काठमाडौं-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रका अगाडि सधैँभरि चुनौतीका साथै अवसरहरू पनि हुने बताउनुभएको छ।
वाग्मती प्रदेश युवा परिषद्को आयोजनामा भएको सिपमूलक तालिमका सहभागीको दीक्षान्त समारोहलाई बिहीबार हेटौँडामा सम्बोधन घिमिरेले अहिले नेपाल राष्ट्रको अगाडि युवा शक्तिलाई उचित प्रयोग गरेर देश निर्माण गर्ने अवसर रहेको बताउनुभयो।
‘चुनौती आफैमा एउटा अवसर हो, चुनौतीको ठिक ढङ्गले सामना गर्न सकियो भने त्यसलाई अवसरमा बदल्न सकिन्छ, चुनौतीको सामना गर्न सकियो भने त्यसले समाजलाई आधारभूत रूपमा रूपान्तरण गर्न सक्छ’, उहाँले भन्नुभयो।
चुनौतीको सामना गर्न युवाको जनशक्ति महत्पूर्ण हुने उहाँले बताउनुभयो। तर त्यसको लागि काम गर्ने इच्छाशक्ति, राष्ट्रप्रतिको सोच, राष्ट्रिय भावना, सिप र क्षमतामा भर पर्ने उहाँको भनाइ छ। युवा जागेपछि चीनले आफ्नो राष्ट्रियतालाई जोगाएको उहाँले स्मरण गराउनुभयो ।
अहिले देशमा संघीय लोकतान्त्रिक व्यवस्था रहेको बताउँदै उहाँले युवा प्रति राष्ट्रको दायित्व बढेको बताउनुभयो। युवाले राष्ट्र निर्माण गरेको भूमिकाले देश धेरै अघि बढ्ने स्थिति भए पनि त्यो स्थिति अपेक्षित रूपमा बन्न नसकेको घिमिरेको भनाइ छ। नीति र नेतृत्वको कमजोरीका कारण यस्तो भएको हुन सक्ने भए पनि त्यो कारण देखाएर होइन त्यसलाई सामना गरेर अघि बढ्ने क्षमता युवामा हुने पर्नेमा उहाँले जोड दिनुभयो।




प्रतिक्रिया