अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सौर्य एयरलाइन्सद्वारा घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना

सौर्य एयरलाइन्सद्वारा घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना


काठमाडौँ-सौर्य एयरलाइन्स प्रालिले विमान दुर्घटनामा परी घाइते हुनुभएको क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य लाभको कामना गरेको छ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको स्वास्थ्य लाभको कामना गर्नुभएको हो। अध्यक्ष पोखरेलले विज्ञप्तिमा भन्नुभएको छ, ‘विमान दुर्घटनामा परि बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं।’

पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग गर्ने जनाएको छ। ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग साथ र सद्भाव सधैँ रहने विश्वास दिलाउँछौँ। सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरूले निष्ठापूर्वक पुर्‍याउनु भएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधैँ जीवन्त एवं चिर स्मरणीय इतिहासको रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना परि दिवंगत भएकोप्रति दु:ख व्यक्त गरेको छ। सौर्य एयरलाइन्सले दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

‘सौर्य एयरलाइन्स प्रालिको स्थापनाकाल देखि एउटै परिवारको रुपमा रही काम गर्दै आउनुभएका हाम्रा अनन्य मित्र एवम् सहयोगीहरुको मिति २०८१/०४/०९ गते अकल्पनीय जहाज दुर्घटनामा परि दिवंगत हुनुभएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएका छौं। यस दुर्घटनामा परि ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न सकिन्न। यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको यस दुःखद घडिमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौं।’

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।

बुधबार बिहान ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे-७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा सोही विमानका चालक शाक्य घाइते हुनुभएको थियो। विमानमा सवार अन्य १८ जनाको मृत्यु भइसकेको छ। शाक्यलाई उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरू गरिएको थियो।