काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहको २०८३ मङ्सिर ६ र ७ गते हुने भारतको दुईदिने राजकीय भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलाई स्वीकृति दिएको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जान लागेका हुन्। परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी भ्रमणको कार्यतालिका, भ्रमण टोली र भ्रमणका क्रममा हुने कार्यक्रमबारे औपचारिक जानकारी गराएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी उनी सोमबार साँझ ६ः३५ बजे सोही वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय हुनेछ। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्। नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि टोलीमा रहनेछन्।
यसैगरी, निजी क्षेत्रबाट ५२ जना व्यवसायी आफ्नै खर्चमा भारत जानेछन्। भ्रमणको समाचार सङ्कलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकारसमेत आफ्नै खर्चमा भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मङ्सिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा दुई देशबीच आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्।
प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, आइतबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन्। साथै, नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत आयोजना हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन्। नेपालमा भारतीय लगानी आकर्षित गर्ने, व्यवसायीका चासो र सरोकार सुन्ने तथा लगानी विस्तारका लागि सरकारले अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराउने कार्यक्रम रहेको छ।
दुई देशका प्रधानमन्त्रीबीचको वार्ताका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत छलफल हुनेछ। ती क्षेत्रसँग सम्बन्धित विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि मङ्सिर ७ गते अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले पत्रकार सम्मेलन गरी भ्रमणका विषयवस्तु र उपलब्धिबारे जानकारी गराउने कार्यक्रम छ।



प्रतिक्रिया