काठमाडौँ-साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्निदहन’को फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा मंगलबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले फस्टलुक सार्वजनिक गर्नुभएको हो।
उहाँले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौतिको रुपमा रहिरहेको भन्दै राजनीतिक, आर्थिक क्रान्तिसँगै अब समाजमा सांस्कृतिक क्रान्तिको आवश्यकता पनि रहेको बताउनुभयो । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियानले सरकारले गर्नुपर्ने भन्दापनि महत्वपूर्ण काम गरिरहेको पनि उहाँको भनाई छ।

कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध फिल्म निर्माण हुनु सराहनीय कार्य भएको बताउनुभयो। ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन्। उनीहरूमाथि कुटपिट भएको छ, उनीहरूले आत्महत्या गरेका छन्। अझ भनौँ अमानवीय कार्य नै भएको छ’, उहाँले भन्नुभयो, ‘नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ। यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो। त्यसलाई सबैले मिलेर फाल्नुपर्छ। त्यो अभियानमा यो फिल्म सफल हुन्छ भन्नेमा आशावादी छु।’
उहाँले बोक्सी प्रथासँगै हली, छोउपडी, हरुवाचरुवा लगायतका प्रथाहरु अहिले पनि रहेको भन्दै यस्ताप्रकारका समाजमा रहेको कुप्रथाहरुलाई अन्य गर्न सबै सचेत वर्गहरु लाग्नुपर्नेमा जोड दिनुभयो। सामाजिक सन्देश भएका यस्ता प्रकारका चलचित्रमा सरकारको पनि सहभागिता हुन आवश्यक रहेको उहाँको भनाइ छ।
फिल्मका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताउनुभयो। ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ। उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौँ। फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उहाँले भन्नुभयो।
निर्देशक लामिछानेले संस्थाको उद्देश्य पूरा हुनेगरी फिल्म निमार्ण भएको उल्लेख गर्नुहुँदै आगामी मङ्सिर ७ गते हलमा आएर ‘अग्निदहन’ हेरिदिन पनि आग्रह गर्नुभयो। मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रूपमा अभियानको रूपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उहाँले प्रष्ट पार्नुभयो।
प्रतिक्रिया