अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८ सय घरपरिवार प्रभावित

म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८ सय घरपरिवार प्रभावित


म्याग्दी-म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन्। ७८९ घरपरिवार पूर्ण, आंशिक क्षति भएका र जोखिममा परेर प्रभावित भएका विवरण संकलन भएको हो। जनप्रतिनिधि, प्राविधिक र प्रहरीको टोलीले क्षतिको तथ्यांक संकलन गरी मुचुल्का तयार पारेका छन्। विपद्बाट अन्नपूर्णमा पाँच र मालिकामा दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए । बेनी नगरपालिका र अन्नपूर्णमा एक/एक जना बेपत्ता छन्। गत साउनमा बेनी नगरपालिका–३ भकिम्लीमा एक जनाको मृत्यु भएको थियो। 

प्रनाउ कार्कीका अनुसार जिल्लाभर २४३ घर पूर्ण र १८४ घरको आंशिक क्षति भएको विवरण संकलन भएको छ । ३६२ घर बाढी, पहिरो र कटानका कारण जोखिममा परेका छन् । ३४ गोठ पूर्ण र ४६ वटामा आंशिक क्षति पुगेको छ भने १३ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ । 

म्याग्दीका प्रमुख बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–बागलुङलगायत सडक, खानेपानी, सिँचाइ, विद्युतीकरण, जलविद्युत् आयोजना, प्रसारण लाइन, नदी नियन्त्रण योजनामा ठूलो क्षति पुगेको छ । कालीगण्डकी र म्याग्दी नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा कटान तथा बाढीको जोखिम बढेको छ । 

क्षतिको विवरण संकलन पूरा हुँदासम्म सङ्ख्या थपिन सक्ने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश गैरेले म्याग्दी उद्धार र राहतपछि अस्थायी बसोबासको व्यवस्थासँगै पुनर्निर्माणको चरणमा अघि बढेको जानकारी दिए । 

“मृतक र घरबास गुमाएकाहरूलाई उद्धार र राहत उपलब्ध गराई अस्थायी बसोबासको व्यवस्था मिलाउनेसँगै निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन र व्यवस्थित बनाउन कार्ययोजना बनाएका छौँ,” उनले भने, “निजी आवास पुनर्निर्माणको काम आगामी २०८३ जेठ दोस्रो हप्ताभित्र सक्ने गरी कार्ययोजना तयार भएको छ ।” 

समयतालिका निर्धारण गरेर तयार पारिएको १२ बुँदे कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको स्पष्ट जिम्मेवारी तोकिएको छ । हिमाली जिल्ला म्याग्दीका विपद् प्रभावितले निजी आवास पुनर्निर्माणका लागि रु पाँच लाख अनुदान पाउने कार्यविधि छ । 

सरकारले असोज २१ गते म्याग्दीका बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । विपद् प्रतिकार्यका आकस्मिक काम गर्नका लागि पहिलो चरणमा संघीय सरकारले रु ४०/४० लाख अनुदान पठाएको छ । 

विपद्बाट क्षति पुगेका सार्वजनिक भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि भने स्थानीय तहको माग र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत बजेट उपलब्ध गराइने म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बताए ।