दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश निर्माणको जिम्मा एमालेको काँधमा रहेको बताउनुभएको छ ।
नेकपा एमाले दाङको प्रथम पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव पोखरेले देश बनाउनको लागि पहिला पार्टीलाई राम्रो बनाउनु पर्ने बताउनुभयो । उहाँले पार्टी निर्माणमा लाग्न सबै नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । ‘एमालेका नेता कार्यकर्ताहरूको काँधमा समृद्ध मुलुक निर्माण गर्ने दायित्व थपिएको छ’, पोखरेलले भन्नुभयो ।
पोखरेलले पार्टी बलियो बनाउन पार्टीलाई जनतासँग जोड्नु पर्ने बताउनुभयो । जनतासँग नजोडिएको पार्टीलाई जनताले विश्वास नगर्ने बताउँदै उहाँले जनतासँग अभियानलाई तीव्रता दिन आग्रह गर्नुभयो ।
पोखरेलले नेकपा एमालेलाई जनताको रोजाइको पहिलो पार्टी बनाउनु पर्ने बताउनुभयो । जनमतको हिसाबले मुलुकको पहिलो पार्टी हुँदाहुँदै पनि प्राविधिक हिसाबले नेकपा एमाले अहिले दोस्रो पार्टी भएको उहाँले सुनाउनुभयो । विगतका कमजोरीबाट पाठ सिक्दै पार्टी कामलाई अघि बढाउन उहाँले आग्रह गर्नुभयो ।
एमालेलाई उथलपुथल चाहिएको नभई विकास चाहिएको पोखरेलले बताउनुभयो । त्यसैले उथलपुथलका नाइके प्रचण्डसँगको सहकार्य तोडेर एमालेले नयाँ यात्रा प्रारम्भ गरेको उहाँको भनाइ छ ।
प्रचण्डले सुरु गरेको अस्थिरताले मुलुक झन्झन् कमजोर बन्दै गएको महसुस गरी एमालेले कांग्रेससँग सत्ता सहकार्य गरेको पोखरेलले बताउनुभयो । मुलुक सङ्कटग्रस्त बन्दै गएकाले एमालेले नयाँ विकल्प खोजेको उहाँले दाबी गर्नुभयो । ‘विकास र समृद्धिको यात्रालाई प्रचण्डले बोक्न सक्नुभएन, उहाँ उथलपुथलको नायक बन्नु भयो, जसले गर्दा नेपाली राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाएका छौँ’, उहाँले भन्नुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा भएको बैठकमा पोलिटब्युरो सदस्यहरू सुजिता शाक्य, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चेतनारायण आचार्यलगायतका केन्द्रीय र प्रदेशका नेताहरूको सहभागिता थियो ।
प्रतिक्रिया