अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेसँग अष्ट्रेलियन राजदूतको बिदाइ भेट

सभामुख घिमिरेसँग अष्ट्रेलियन राजदूतको बिदाइ भेट


काठमाडौं-सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका राजदूत फेसिसिटी भोल्कले आज बिदाइ भेट गर्नुभएको छ। सन् २०२१ मा नेपालको राजदूत नियुक्त हुनुभएकी उहाँ अष्ट्रेलियन सरकारको परराष्ट्र मामिला विभागको उच्च अधिकारी हुनुहुन्छ।

साढे तीन वर्षे कार्यकाल पूरा गरेर आगामी अगष्टमा स्वदेश फर्कनुअघि राजदूत भोल्कले बिदाइ भेट गर्नुभएको हो। भेटमा सभामुख घिमिरेले नेपालको लागि अष्ट्रेलियन राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकोमा बधाई ज्ञापन गर्नुभएको छ। ‘आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित हाम्रो सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा अत्यन्तै खुशी लागेको छ,’ सभामुख घिमिरेले भन्नुभयो, ‘दुई देशबीचको उच्चस्तरीय भ्रमणमा महामहिमले प्राप्त गर्नुभएको सफलता स्मरणीय रहनेछ।’

सभामुख घिमिरेले नेपाल र अष्ट्रेलियाबीच यस वर्ष सम्पन्‍न भएको व्यापार र लगानी सम्बन्धि सम्झौता (टिफा) को कार्य अघि बढिरहेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँको भनाइ थियो, ‘सम्झौता पश्चात् व्यापार र लगानीका क्षेत्रमा थप विस्तार हुने अपेक्षा रहेको छ।’

सामुदायिक वन कार्यक्रममा अष्ट्रेलिया सरकारको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा पनि यस्तै दीर्घकालीन प्रभाव पार्ने सफल परियोजनामा अष्ट्रेलिया सरकारको सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो।

आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित हाम्रो सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा अत्यन्तै खुशी लागेको छ। दुई देशबीचको उच्चस्तरीय भ्रमणमा महामहिमले प्राप्त गर्नुभएको सफलता स्मरणीय रहनेछ।

नेपाल र अष्‍ट्रेलियाबीचको सम्बन्धलाई अझ बढी मजबुत बनाउन द्विपक्षीय भ्रमणको आदान-प्रदान, नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूहको गठन लगायतले पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको सभामुखको भनाइ छ। उहाँले अष्ट्रेलिया सरकारले कोभिड-१९ तथा जाजरकोट भूकम्पका समयमा नेपाललाई प्रदान गरेको मानवीय सहायताप्रति धन्यवाद व्यक्त गर्नुभयो।
राजदूत भोल्कले नेपाल र अष्‍ट्रेलियाबीच आगामी दिनमा पनि उच्चस्तरीय भ्रमण तथा आदान जारी रहने बताउनुभयो। ‘अष्ट्रेलियामा केही समयपछि संसदीय निर्वाचनका कारण तत्कालै उच्चस्तरको भ्रमण नभए पनि आगामी दिनमा भ्रमणले निरन्तरता पाउने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो।

नेपाल र अष्ट्रेलियाबीच भएको व्यापार र लगानी सम्बन्धि सम्झौता (टिफा) बैठकका लागि अष्ट्रेलियन टोली काठमाडौं आउने तयारीमा रहेको बताउँदै राजदूत भोल्कले सम्झौतालाई नेपालको हितका प्रयोग गर्ने विषयमा छलफल हुने बताउनुभयो ।
आफ्नो कार्यकालमा नेपालमा कुनै पनि नकारात्मक विषय नपाएको बताउँदै उहाँले भन्नुभयो, ‘मैले नेपालमा रहँदा नेपाली भाषा सिक्न सकिनँ, तर एउटा वाक्यांश सिकेँ– यो मन त मेरो नेपाली हो।’