काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक काठमाडौंको हनुमानस्थानस्थित होटल बसेरामा बस्ने भएको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय मंगलबार रातिको भारी वर्षाका कारण डुबानमा परेपछि बैठक होटल बसेरा हनुमानथानमा बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बस्न लागेको हो। बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्ने गौतमले बताउनु भयो।
बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ। २०८१ असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।
सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।
मङ्गलवार रातिको अविरल वर्षापछि मनोहरामा उर्लिएको बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको थियो। बाढी पसेपछि अहिले पार्टी कार्यालय सरसफाइ र मर्मतको काम भइरहेको छ।
प्रतिक्रिया