अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शान्तिप्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउँछौँ: गृहमन्त्री लेखक

शान्तिप्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउँछौँ: गृहमन्त्री लेखक


काठमाडौँ-गृहमन्त्री रमेश लेखकले विगत १८ वर्षदेखि थाती रहेको शान्तिप्रक्रिया निष्कर्षमा पु(याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

‘चौपातो नेपाल’द्वारा आज कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शान्तिप्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो। मुलुकका प्रमुख दुई राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार देशमा दिगो शान्ति र सुशासन कायम गरी जनतामा देखिएको निराशा चिर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो।

‘राजनीतिक अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेको समीकरण बनेको हो’, उहाँले भन्नुभयो । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भए पनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको गृहमन्त्री लेखकको भनाइ थियो।

‘सरकार निर्माणका क्रममा विभिन्न राजनीतिक दल सम्मिलित समीकरण बन्ने र भत्किने क्रम चल्यो। सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव पर्न थाल्यो । विधिको शासन सुनिश्चित गर्न वर्तमान सरकार गठन गर्न आवश्यक भयो,’ उहाँले भन्नुभयो।

शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको गृहमन्त्री लेखकले स्पष्ट गर्नुभयो।

‘सामान्यतया संसद्मा रहेका ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वाभाविक देखिँदैन। कतिपय अवस्थामा स्वाभाविक मानिँदैन’, गृहमन्त्री लेखकले भन्नुभयो, ‘तर मुलुकमा महत्वपूर्ण ‘एजेन्डा’ अगाडि आउँछन्। त्यसको कार्यसम्पादन गर्नुपर्ने हुन्छ। राष्ट्रका साझा कार्यभार सम्बोधन गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा देशका ठूला पार्टी एक ठाउँमा उभिएका हाम्रो इतिहास छ।’

सुदूरपश्चिम प्रदेशलाई भारत र चीनसँग जोड्न चाँडै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापन गर्ने  सरकारको योजना रहेको गृहमन्त्री लेखकले बताउनुभयो। महाकाली करिडोर, सेती लोकमार्गलगायत महत्त्वपूर्ण परियोजना अगाडि बढाएर छिमेकी देश भारत तथा चीनसँग जोड्न लागिएको उहाँको भनाइ थियो।

‘तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गरी तेस्रो मुलुकका नागरिकलाई कैलाश मानसरोवर जाने बाटो बनाउने योजना अगाडि बढाएका छौँ। सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्छौं। यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्छ’, उहाँले भन्नुभयो। 

सो अवसरमा सुदूरपश्चिमको भाषामा अमूल्य योगदान दिएका आरडी प्रभाष चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा योगदान दिएकी विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, नेपाली शास्त्रीय गीत-सङ्गीतको क्षेत्रका तिलकसिंह पेला, प्रशासन क्षेत्रमा योगदान पुर्‍याएका डा हरिदत्त पाण्डेय र साहित्यमा योगदान दिएका हेमबाबु लेखकलाई सम्मान गरिएको थियो। यस्तै सुदूरपश्चिमको भाषामा योगदान दिएका डम्बर शर्मा बडूलाई मरणोपरान्त सम्मान गरिएको छ।