अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोपोन्मुख माछा कोशीमा भेटियो

लोपोन्मुख माछा कोशीमा भेटियो


मोरङ-कोशीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ। कोशी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि जनाइएको छ।

क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन)ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ। जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ।

अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो। अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गर्नुभयो।

पाँच जनानेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरु वाङ हुई, जिनक्वान याङ र चेनहोङ् लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगष्टमा सोसम्बन्धी लेख प्रकाशित छ।

अनुसन्धानकर्ता जसहाङ लिम्बू भन्नुभयो, “माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना सङ्कलन गरेका थियौँ । सोही क्रममा उक्त माछा कोशी ब्यारेज क्षेत्रमा विस्तारै बगिरहेको पानीमा भेटिएको थियो। यसको बाहिरी तथा आणविक बनावटका साथै वंशवृक्षको अध्ययनबाट यो नेपालको लागि नयाँ र विश्वबाटै लोप हुन लागेको प्रजाति रहेछ पाइएको छ।’

उहाँहरुले अध्ययनका लागि तमोर र कोशीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीमा कम्तीमा ४५ स्थानबाट सात सय वटा नमूना सङ्कलन गरिएको जानकारी दिनुभयो । उक्त नमूनामध्ये एउटा सङ्कटापन्न प्रजातिको माछा भेटिएको हो ।

अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले २९ वटा प्रजातिको पञ्जीकरण गरिएको र एउटा प्रजाति नेपालका लागि नयाँ भएको पाइएको बताउनुभयो।

नेपालका लागि नयाँ भनिएको अर्को प्रजातिको वैज्ञानिक नाम  इरेथिस्टेस सिकुलाहो। यो पनि कोशी नदी र मोरङको लोहन्द्रा नदीमा पाइएको थियो । यो माछा नदीको तीव्र गतिमा बग्ने भागमा पाइएको उहाँले बताउनुभयो। उक्त सिकुला माछालाई पनि आइयुसिएनले ‘तथ्याङ्क अभाव’ भएको सूचीमा राखेको छ। यी दुवै माछा कोशी नदीमा प्रशस्त पाइने र स्थानीय व्यवसायीले दोहन गरिरहेको अवस्था रहेको उहाँले बताउनुभयो ।

अनुसन्धानकर्ता लिम्बूले भन्नुभयो, ‘यस्तो दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेको पाइयो। यी दुवै माछा खानका लागि लोकप्रिय मानिन्छन्।’

अनुसन्धानकर्ता अधिकारीका अनुसार लोपोन्मुख प्रजाति नेपालमा प्रशस्त सङ्ख्यामा पाइनु खुसीको कुरा भएको बताउनुभयो। उहाँका अनुसार एमब्लिसेप्स जातिका तीन प्रजाति मङ्गोइज, अरुणाचलेन्स् र वाइखोमी नेपालमा पाइने पुष्टि भएको छ। अरुणाचलेन्सलाई पहिला मङगोइज हो भनेर विश्वास गरिएको थियो।

एक दशक अघि नेपालमा पाइने भनेर लेखिएका प्र्रजातिको पहिचानमा त्रुटि भेटिएकाले अहिले डिएनए बारकोडिङबाट यथार्थता पहिचान गर्ने प्रयास गरिएको लिम्बूको भनाइ छ।

तथ्याङ्कअनुसार नेपालमा पाइने माछामध्ये यस अघिसम्म तीन वटा प्रजाति अति सङ्कटापन्न र शहर माछा सङ्कटापन्नको सूचीमा थियो। अब एम्ब्लिसेप्स अरुणाचलेन्स् पनि सङ्कटापन्नको सूचीमा थपिएको हो।

खोजकर्ताको उक्त टोलीले दुई वर्षमा माछाका यी दुईसहित छ वटा प्रजाति नयाँ प्रजाति पत्ता लगाइसकेको छ।